मालिका धुरीलाई पर्यटकीय गन्तव्य बनाउन पहल

  • १७ बैशाख २०७६, मंगलवार
  • कमल खत्री
  • 3225 पटक पढिएको

कमल खत्री
म्याग्दी, १७ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले धार्मिक र पर्यटकीय स्थल मालिका धुरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरेको छ । मालिका गाउँपालिका ७ बिम र ६ दुखु तथा रघुगंगा गाउँपालिका ६ ठाडाखानीको शिरमा रहेको मालिका धुरीलाई पर्यटकीय गन्तवय स्थलको रुपमा विकासको लागि मालिका गाउँपालिकाले सडक सञ्जालले जोड्ने कामको थालनी गरेको छ भने मालिका धुरीमा पर्यटन पूर्वाधार निर्माण गर्ने भएको छ ।

मालिका–७ बिमबाङ सम्म पुगेको सडकलाई विस्तार गरि मालिका धुरीको फेदीमा रहेको नागीथला सम्म पु¥याउने काम भैरहेको छ । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० लाख बजेटबाट अहिलेसम्म करिब ५ किलोमिटर नयाँ ट्याक खन्ने काम सकिएको बिमका वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन)ले जानकारी दिए । ‘‘मालिका धुरी सम्म सहजै जानसक्ने प्रवन्ध मिलाउन सडक सञ्जालले जोड्न लागेका हाँै, अझै करिब ४ किलोटर सडक विस्तार गरेपछि मात्रै नागीथलामा पुग्न सकिन्छ, त्यहाँबाट करिब ४० मिनेटको यात्राको लागि व्यवस्थित पदमार्ग बनाउने योजना छ’’– वडा अध्यक्ष जुग्जालीले भने ।


समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिका धुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि गाउँपालिकाले सडकको पहुँच संगै अन्य पर्यटन पूर्वाधार निर्माणमा समेत जोड दिएको छ ।सक्तल,अप्ठ्यारो ठाउँहरुमा रेलिङ, पदमार्ग लगायतका पूर्वाधार निर्माण गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । उनका अनुसार, अन्य पर्यटन पूर्वाधार निर्माणको लागि चालु आर्थिक बर्षकै लागि गाउँपालिकाले थप रु १५ लाख बजेट समेत विनियोजन गरेको छ ।

सडक सञ्जालको काम सकिए लगत्तै थप काम सुरु हुनेछ । म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिका धुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङखलाको लहरै दृष्य अवलोकन गर्न सकिन्छ भने यहाँबाट सुर्योदयको दृष्य मनमोहक देखिन्छ । मालिका क्षेत्रको जंगलमा पाईने लालीगुराँस, वन्यजन्तु, पंक्षि, विभिन्न प्रजातीका फुल, जडिवुटी र वन पैदावार थप आकर्षण हो ।
                                भाकल पुरा हुने मान्यता
पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको मालिका धुरीमा पुजा गरेमा मनोकामना पुरा हुने धार्मिक मान्यता समेत रहेको छ । चण्डी पूर्णीमा, जेष्ठि पूर्णीमा, भाईटिका र बालाचर्तुदर्शीमा यहाँ बिशेष पुजा लाग्ने गरेको छ । मालीका, कालीका र जाल्पादेवीको मुर्ती रहेको मालिका मन्दिरमा भाकल पुरा भएमा बोका र परेवाको बली चढाउने चलन रहेको छ । वि.स १९१० देखि पुजाआजा हुन थालेको ईतीहाँस रहेको मालीकामा पछिल्लो समय बलीको बिकल्पमा नरीवल चढाउने चलन बसाईएको छ । भगवान शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किम्बदन्ती छ ।
                                  यसरी पुगिन्छ मालिका
बेनी देखि पैदल दुई दिन र सवारी साधन प्रयोग गर्दा एकै दिनमा मालिका पुग्न सकिन्छ । म्याग्दीको बिम, बाइन्दफाँट, हिदी, दुखु, ठाडाखानी, टोड्के भएर मालीका जान सकिन्छ । अहिले मालिका धुरीमा जाने भक्तजनहरुलाई लक्षित गरि केही सत्तल निर्माण गरिएका छन् । बिशेष पुजा हुने दिनहरुमा यि सक्तलमा भक्तजन खचाखच हुने गर्छन् । केही भक्तजनले मालिकामा निजी लगानीमा सत्तल निर्माण र खानेपानी सुबिधाको व्यवस्था गरिदिएका छन् । मालिका धुरी पुग्ने बाटोमा अधिकाँश क्षेत्र पहाडी भुगोलमा साँघुरा बाटोमा जोखिम मोलेर हिड्नुपर्ने बाध्यता रहेको छ । रेलीङ सहितको फराकीलो पदमार्ग बनाउनतर्फ ध्यानदिनुपर्ने देखिन्छ । पर्यटन मन्त्रालयको पाँच लाख र तत्कालीन जिविसको दुई लाख रुपैया सहयोगमा मालिका मन्दिर निर्माण भएको थियो ।
                               मालिकाको विकासमा चौतर्फि पहल
पर्यटकीय र धार्मिक महत्वको दृष्टिकोणमा सम्भावनायुक्त क्षेत्र मालिकाको विकासमा चौतर्फि पहल भएको छ । मालिकाको बिम हुँदै पदमार्ग र सडक पहुँच पु¥याउन लागिएको छ भने बेनी देखि जगन्नाथ टोड्के मालीका धुरी बाईन्दफाँटको बराह ताल हुदै धौलागिरी आधार शिवीर जाने पदमार्ग सञ्चालनमा लागि समेत पहल गरिएको छ । रघुगंगा गाउँपालिकाले समेत ठाडखानीबाट मालिका जाने सहज पदमार्ग बनाउने कामको थालनी गरेको छ । अघिल्लो बर्ष रु ३ लाख बजेटबाट पदमार्ग निर्माण सुरु गरिएको थियो । मालीकालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न व्यवस्थित पदमार्ग, आवास सुबिधाका लागि नजिकैका बस्तीमा होमस्टे, सामुदायीक लजको ब्यवस्थासंगै धार्मीक महत्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा जोड दिनुपर्ने देखिन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l