मंगलामा कृषि र पशु सेवाका कार्यक्रमलाई प्राथमिकता
- ९ माघ २०७५, बुधबार
- 1946 पटक पढिएको
म्याग्दी ९ माघ । म्याग्दीको मंगला गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको प्रमुख सम्भावनाको रुपमा लिईएको कृषि र पशुपालनलाई व्यवसायिक बनाउने उदेश्यले चालू आर्थिक वर्ष २०७५/७६ मा कृषि र पशुविकास सँग सम्बन्धित ४७ लाख ४५ हजार रुपैयाँको कार्यक्रम तयार गरेको हो । पुष २५ गतेदेखि सुरु भएको चौथो गाउँसभाले कृषि विकासतर्फ २५ लाख रुपैयाँ र पशु विकास तथा सेवा तर्फ २३ लाख ४५ हजार रुपैयाँ बराबरको कार्यक्रमका लागि बजेट स्विकृत गरेको हो ।
गाउँसभाले कार्यक्रम र बजेट स्विकृत गरेपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । गाउँपालिका अन्तरगतका कृषि र पशु शाखाले सूचना जारी गरेर कृषकहरुबाट निवेदन संकलन सुरु गरेका छन् । कृषि शाखाले गहुँको विउ, मल वितरण र अगुवा कृषक भ्रमणका लागि पाँच लाख २४ हजार ४५० रुपैयाँ, पचास प्रतिशत अनुदानमा दश वटा पलास्टिक टनेल निर्माण तथा वितरणका लागि असी हजार, पचास प्रतिशत अनुदानमा मकैको विउ वितरणका लागि एक लाख पचास हजार र ढुवानी गर्न पचास हजार रुपैयाँ बिनियोजन भएकोे छ ।
तालिम सञ्चालन शिर्षकतर्फ मानवमुत्र संकलनका लागि दुई लाख, प्राङ्गागिर खेती तथा जैविक विषादी व्यवस्थापनका लागि एक लाख पचास हजार रुपैयाँ, सुन्तला बगैचा व्यवस्थापनका लागि पचास हजार, सुन्तला बगैचा काटछाट औजार वितरणका लागि १८ हजार ५०० र अलैची खेति प्रविधि विस्तार तथा व्यवस्थापनका लागि एक लाख रुपैयाँ बिनियोजन भएको छ । पचास प्रतिशत अनुदानमा च्याउको विउ वितरणका लागि पचास हजार, ढुवानीका लागि बिस हजार पचास, सुन्तला बगैचाको लागि सागा प्राङ्गारिक मल वितरणका लागि दुई लाख रुपैया बिनियोजन भएको छ ।
पचास प्रतिशन अनुदानमा सुन्तला, अम्बा, कागति, अलैचा, केराका बिरुवा वितरण, ढुवानी र प्याकेजिङका लागि छ लाख दश हजार रुपैयाँ बिनियोजन गरिएको कृषि शाखाका प्राबिधिक जगत बानियाले बताउनुभयो । पचास प्रतिशत अनुदानमा तरुलको विउ वितरण गर्न असी हजार, ढुवानीका लागि बीस हजार र धान दिवसको कार्यक्रम सञ्चालन गर्न पचास हजार रुपैयाँ छुट्टिएको छ । अन्य शिर्षक अन्तरगत कार्यालय सञ्चालनमा पचास हजार, अनुगमन, भ्रमण तथा प्रतिवेदनमा पचास हजार र कृषि शाखा कार्यालय परिसरमा करेसाबारी निर्माण तथा कृषि सामग्री खदिर व्यवस्थापनका लागि ४७ हजार रुपैयाँ बिनियोजन भएको प्राबिधिक बानियाले बताउनुभयो ।
पशु सेवा शाखाले पशु तथा पशुजन्य पदार्थमा आत्मनिर्भरता अन्तरगत अण्डा उत्पादन कार्यक्रमका लागि बीस जना कुखुरापालक कृषकलाई समेटेर समूह गठन, तालिम सञ्चालन, खोर निर्माण अनुदान, चल्ला वितरण र अनुगमन, प्रतिवेदनका लागि तीन लाख १४ हजार रुपैयाँ बिनियोजन गरेको छ । मासु उत्पादनमा आत्मनिर्भरता कार्यक्रम शिर्षक अन्तरगत ७५ प्रतिशत अनुदानमा बोयर जातका पाँच वटा बोका वितरण गर्न पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ । १०० जना कृषकहरुलाई समेटेर समूह गठन गरी तीन दिने बाख्रापालन तालिम, बाख्रा वितरण, लगायत कामका लागि छ लाख तीस हजार रुपैयाँ बिनियोजन गरेको पशु सेवा शाखाका प्रमुख दिर्घबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार सुत्केरी भैसीलाई भत्ता वितरणका लागि साठी हजार, गाइभैसी फार्म सुदृढिकरण तथा जातीय सुधारका लागि तीन लाख, नमुना गोठ निर्माणका लागि एक लाख, बहुवर्षे घाँसको विउ वितरण गर्न चालीस हजार रुपैयाँ बिनियोजन भएको छ । पशु स्वास्थ्य सेवा तथा नियमन कार्यक्रम शिर्षकमा दुई लाख, तालिम, शिविर शिर्षकमा एक लाख ११ हजार रुपैयाँ बिनियोजन गरिएको छ । कृषकहरुलाई व्यवसायिकता तर्फ आकर्षीत गर्ने, प्राङ्गारिक खेतीलाई प्रर्वद्धन र कृषकहरुको आयआर्जन वृद्धिमा जोड दिएर कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।