सामुहिक कुखुरा पालनबाट आयआर्जन

  • १३ आश्विन २०७५, शनिबार
  • कमल खत्री
  • 3272 पटक पढिएको

बेनी, १३ असोज । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरका स्थानीयले गरेको सामुहिक कुखुरापालन फस्टाएको छ । ३ बर्ष अघि तत्कालिन नागरिक सचेतना केन्द्रमा आबद्ध सदस्यहरुको लागि सुरु गरिएको कुखुरापालनबाट आयआर्जन संगै रोजगारि समेत सिर्जना गरेको हो ।

केन्द्रमा आबद्ध २५ जनाले तीन बर्षदेखि नियमित रुपमा अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पाल्दै आएका छन् । अहिले फर्ममा १ हजारको हाराहारीमा कुखुरा रहेको फर्ममा कार्यरत पुर्ण बहादुर पुर्जाले जानकारी दिए । ‘‘ हामीले जति अण्डा उत्पादन गरेपनि बजारको अभाब छैन, सडक नजीकै भएकाले बजारीकरणमा सहज भएको छ’’–पुर्जाले भने ।  यस फर्ममा उत्पादन भएको अण्डा स्थानीय बजारसंगै बेनी–जोमसोम सडक हुँदै बेनी र मुस्ताङमा समेत निर्यात हुँदै आएको छ । फर्ममा एक जनालाई नियमित रुपमा रोजगारि समेत दिईएको छ । पहिलो लटमा १ हजार कुखुराबाट अण्डा उत्पादन थालिएकोमा रु ३९ लाख बराबरको अण्डा विक्रि भएको थियो । दाना, ढुवानी, चल्ला खरिद, कर्मचारीलाई तलब लगायतमा रु ३३ लाख खर्च भएर ६ लाख आम्दानी भएको केन्द्रका तत्कालिन अध्यक्ष समेत रहेका युवा उद्यमी बुद्धि पुनले बताए ।

????????????????????????????????????

उनका अनुसार, दोस्रो लटमा अहिलेसम्म रु २७ लाख बराबरको अण्डा विक्रि भएको छ । एक लटका कुखुराले १८ महिनासम्म अण्डा उत्पादन दिने गर्छ । ‘‘पछाडी परेका समुदायको क्षमता विकाससंगै आयआर्जनमा सुधार ल्याउन सामुहिक कुखुरापालन गरेका हौँ, अहिलेसम्म कुखुरापालनबाट सोचेअनुरुप नै आम्दानी भएको छ, खर्च कटाएर बचत हुने रकमलाई सदस्यहरुको लगानी गरेको शेयर रकमको आधारमा वितरण गछौँ’’– पुनले भने ।अण्डा दिन छाडेपछि पनि कुखुरालाई मासु खाने प्रयोजनको लागि विक्रि हुने भएकाले लेयर्स जातको कुखुरापालनबाट बढी आम्दानी हुने कृषकहरुको अनुभव छ । १ हजार ४ सय वटा सम्म कुखुरा पालन गर्न सकिने खोरको क्षमता रहेकाले कुखुरापालनलाई थप व्यवस्थित गर्ने योजना समुहले लिएको छ ।

यस केन्द्रमा आबद्ध कृषकहरुले आफ्नो क्षमता अनुसार शेयरको रुपमा रु ३ हजारदेखि २० हजारसम्म लगानी गरेका छन् । नागरिक सचेतना केन्द्रमा आबद्ध भएकाहरुको आयआर्जनको लागि तत्कालिन जिविस अन्र्तगत सञ्चालित एलजिसिडिपी कार्यक्रम मार्फत रु ३ लाख १५ हजार अनुदान उपलब्ध भएको थियो । सो बजेटमा श्रमदान जुटाएर १ हजार चल्ला पाल्न सकिने खोर निर्माण गरिएको थियो ।
तत्कालिन भुरुङतातोपानी गाविसले उपलब्ध गराएको रु २ लाख ५० हजार बजेटमा थप ४०० कुखुरा पाल्न सकिने अर्को खोर निर्माण गरि समुहमा आबद्ध कृषकहरुले शेयर रकम संकलन गरि कुखुराका चल्ला, दाना खरिद गरि सामुहिक रुपमा कुखुरापालन सुरु गरेका थिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l