रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग

  • २३ भाद्र २०७५, शनिबार
  • गोपाल छन्त्याल
  • 2438 पटक पढिएको

म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार सहयोग गरेका हुन् । रोजगारका सिलसिलामा अमेरिकाको हल बोस्र्टन बस्दै आएका शेर्पाले अभियानलाई थप सशक्त बनाउन आफ्नो तर्फबाट सहयोग गरिएको बताए । ‘मलाई दुृर्गम क्षेत्र, त्यसमाथि शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्न मन लाग्छ । कमाइको केहि हिस्सा पुस्तकालयको अक्षयकोषमा योगदान गर्न पाउँदा धेरै खुशी लागेको छ’, शेर्पाले भने ।

शेर्पाका परिवार हाल काठमाडौँमा बस्दै आएका छन् । उनी नेपाल आएका बेला दुर्गम क्षेत्रमा घुम्न र डुल्न मन पराउंछन् । शेर्पाले आफ्नो जन्मगाउँ त्रियुगा नगरपालिका वडां ७ को वडा कार्यालय भवन निर्माणका लागि हालै एक कत्था जग्गा निशुल्क उपलब्ध गराएका छन् । त्यहाँ अहिले भवन निर्माण प्रक्रिया अघि बढेको छ । त्यस्तै, गाउँको विद्यालय, मठमन्दिर र विभिन्न भवनहरु निर्माणका लागि ५० लाख रुपैयाँ भन्दा बढी सहयोग गरिसकेका छन् । ‘अयक्षयकोष बनाउने अवधारणा धेरै राम्रो हो, यो दीर्घकालीन हुन्छ’, उनले भने, ‘मैले मेरो साथीभाईहरुलाई पनि यसबारे जानकारी गराउनेछु ।

’ जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको यात्रापछि पुगिने कुईनेमँगलेस्थित दुलेखर्कमा मावि तहको विद्यालय सञ्चालन भएपछि त्यसक्षेत्रका ३ सय भन्दा बढी विद्यार्थी घण्टौ लगाएर चिमखोला आउनुपर्ने बाध्यता हटेको छ । गत जेठ महिनामा प्रवासी नेपाली र साविक जिल्ला शिक्षा कार्यालयको संयुक्त ७ लाख रुपैयाँको लागतमा पुस्तकालय समेत सञ्चालनमा आएको छ । पुस्तकालयको व्यवस्थित तरिकाले सञ्चालन गर्न स्थायी स्रोतको रुपमा अक्षयकोष बनाउने योजना अनुरुप अभियान सञ्चालन गरिएको पुस्तकालय व्यवस्थापन उपसमितिका संयोजक गोपाल छन्त्यालले जानकारी दिए ।

‘शेर्पा दाईको सहयोगले हामीलाई थप उत्साह मिलेको छ’, उनले भने, ‘हामीले २ लाख रुपैयाँ जुटाउने भनेर अभियान सुरु गरेपनि अहिले कोषमा तीन लाख २५ हजार भन्दा बढी संकलन भइसकेको छ ।’ अक्षयकोष मार्फत प्राप्त व्याजले नयाँ पुस्तक खरिद र कर्मचारी व्यवस्थापन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । पुस्तकालयको दीर्घकालीन सञ्चालनका लागि विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रति दिन एक रुपैयाँ अभियान पनि सञ्चालन गर्दै आएका छन् ।

गोपाल छन्त्याल