जलजलाको बराह ताल ओझलमा

  • २२ भाद्र २०७५, शुक्रबार
  • 7813 पटक पढिएको

म्याग्दी २२ भदौ । प्रशस्त धार्मीक पर्यटकीय सम्भावना बोकेको पर्वतको जलजला गाउँपालिका २ पुरानोगाउँ स्थित बराहताल ओझेलमा परेको छ । पूर्वाधार, संरक्षण र प्रचार प्रसारको कमीले ओझेलमा परेको बराह तालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीय बासीले सक्रियता देखाएका छन् । समुन्द्रि सतहदेखि एक हजार ९५० मिटरको उचाईमा अवस्थित बराहताल तिन रोपनी ८ आना क्षेत्रफलमा फैलीएको छ । करिब तिन मिटर गहिरो यस तालको पृष्ठ भुमिमा धौलागिरी र निलगिरी हिमाल देखिन्छ । बस्ती देखि टाढा एकान्त वातावरणमा रहेको मनमोहक बराहताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा रहेको स्थानीय युवा शिव अधिकारीले बताउनुभयो ।

यहाँबाट पर्वत, म्याग्दी र बागलुङको बस्तीहरुको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा तालनिकै आकर्षक र मनमोहक देखिन्छ । नजिकै रहेको बाँसखर्कमा पर्यटकको चहल पहल बढेपनि बराह ताल सुनसान बनेको अधिकारीको भनाई छ । तालको बिशेषता रमहत्वका बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको अधिकारीले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनी देखि मल्लाज हुदै करिब दुई घण्टा उकालो पैदल हिडेपछि बराहतालमा पुगीन्छ । यो ताल अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग अन्तरगत पर्ने बाँसकर्खको नजिकै छ । अंग्रेजी अक्षरको सि आकारको तालको सौन्दर्य र बिशेषता मल्लाजमै सिमित छ । स्वदेशी तथा बिदेशी पर्यटकको आगमन हुन सकेको छैन् ।

यो जलजला गाउँपालिकाको सबैभन्दा ठूलो ताल भएको वडाका जनप्रतिनिधिहरुले दावी गरेका छन् । नियमित पानीको स्रोत भएकाले ताल कहिल्यै सुक्दैन् । तालको पानीको स्रोतलाई पुरानो गाउँ र मल्लाजमा खानेपानी तथा सिचाईका लागि समेत उपयोग भएको छ । जनै पूर्णीमा पर्वको अवसरमा बराहतालमा बिशेष मेला लाग्ने गर्छ । पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको विद्याज्योती माविका शिक्षक समेत रहनुभएका स्थानीयबासी जिवन कार्कीले बताउनुभयो । कार्कीका अनुसार सन्तान लाभ, रोजगारी, ब्यापार, ब्यवसायमा सफलताको लागि बर माग्न आउने गर्छन् । मनोकामना पुरा भएपछि साँढ, बोका र परेवाको बली चढाउने चलन छ ।

तालको बिच भागमा अवस्थित बयसको रुख यहाँको अर्को आकर्षण हो । सोही रुखको फेदीमा रहेको जलबराह देवताको मुर्तीमा पुजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्र र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छ । केही वर्षयता सरकारी निकाय र स्थानीयबासीको पहलमा ताल संरक्षणको काम भएको छ । जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालय बागलुङ, सिचाई विकास डिभिजन कार्यालय पर्वत र वडा कार्यालयको सहयोगमा स्थानीयबासीले ताल परिसरमा पक्कि पर्खाल निर्माण गरेका छन् । रड ठडाएर सिमेन्ट र गिट्टी मिसाएर ढलान गरिएको पर्खाल दुई देखि तिन मिटर छ । आर्थिक वर्ष २०७४÷७५ मा ९७ मिटर र अघिल्लो वर्ष ५७ मिटर पक्कि पर्खाल लगाइएको बराहताल संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार थप करिब ७५ मिटर पर्खाल निर्माण गर्न बाँकी छ । गतवर्ष सरकारी निकायबाट १६ लाख रुपैया बजेट प्राप्त भएको अध्यक्ष केसीले बताउनुभयो । तालको बिचमा अवस्थित बयसको रुख र बराह देवता मुर्ती भएको वरपर गोलो आकारको रेलीङ बनाइएको छ । प्रवेशद्धारबाट भित्र पसेर बराह देवता र रुखको परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ ।

गाई भैसीले तालमा फोहोर गर्न समस्या रोकीएको छ । ताल परिसरमा सुरक्षाका लागि भित्री भागमा तारजाली बाहीरी भागमा घेराबार पर्खाल लगाउनुपर्ने आवश्यकता रहेको वडा अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो । गाउँपालिका, संघीय र प्रदेशका विषयगत कार्यालयमा थप पूर्वाधार निर्माणका लागि बजेटका लागि पहल गरिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो । बराह ताललाई ब्यवस्थित बनाउन सकेमा पर्यटन विकासमा सहयोग पुग्ने उहाँको भनाई छ । अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्गमा समेट्न पहल गर्ने अध्यक्ष खत्रीले बताउनुभयो ।