सम्पत्ती मूल्याङकन वैज्ञानीक नहुँदा नगरवासी मर्कामा
- ७ भाद्र २०७५, बिहीबार
- सन्ताेष गाैतम
- 2913 पटक पढिएको
म्याग्दी, ७ भदौ । बेनी नगरपालिकाका बासिन्दाहरुले एकिकृत सम्पत्ति कर संकलनका लागि सम्पत्तिको मूल्याङ्कन अवैज्ञानिक भएको गुनासो गरेका छन् । सम्पत्ति मूल्याङ्कन र दररेट निर्धारणका विषयमा जनस्तरमा छलफल र बुझाईमा एकरुपता नहुनु, कर शिक्षाको कमी, मालपोत, चलन चल्ती र नगरपालिकाले गरेको सम्पत्ति मूल्याङ्कन फरक फरक हुँदा सर्बसाधारण मर्कामा परेका हुन् ।
बेनी नगरपालिका ४ तातोपानीका बासिन्दा बिष्णुप्रसाद शर्माले नगरपालिकाले अवैज्ञानिक तवरले गरेको सम्पत्तिको मूल्याङ्कनका कारण तिन लाख रुपैयाको जग्गा किनबेच गर्दा ३७ लाख रुपैया बरारबको कर तिर्नुपर्दा मर्कामा परेको गुनासो गर्नुभयो । केहीदिन अघि तिनलाख रुपैयाको जग्गा किनबेच गर्न नगरपालिकाको सिफारीस लिएर मालपोतमा पुगेका तातोपानीका एक व्यक्तिले एक लाख रुपैया भन्दा बढी कर तिर्नुपरेको भन्दै सोमबार तातोपानीका बासिन्दाले नगरप्रमुख हरिकुमार श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।
नगरपालिकाको राजस्व परामर्श समितिले मुल सडक, सहायक सडक, घोडेटो बाटो, आवासीय र ब्यवसायीक क्षेत्रको आधारमा एकिकृत सम्पत्ति करको दर निर्धारण गरेको थियो । नयाँ आर्थिक वर्षको सुरुवात संगै बेनी नगरपालिकाले जग्गा र त्यहाँ बनेका घर, टहराको एकिकृत सम्पत्ति कर उठाउन सुरु गरेको छ । दशलाख सम्मको घर जग्गाको दुई सय, दशलाख देखि बिस लाख सम्म प्रति लाख थप २५, बिस देखि चालीस लाख सम्मको प्रतिलाख ३०, ४० देखि ८० लाख सम्मको प्रति लाख ३५, ८० लाख देखि एक करोड ५० लाख सम्मको प्रतिलाख ४०, दुई करोड ५० लाख देखि चार करोड सम्मको प्रति लाख ४३ र चार करोड देखि माथिको लाई प्रतिलाख ४५ रुपैयाका दरले एकिकृत सम्पत्ति करको दर निर्धारण गरेको छ ।
मालपोत, नगरपालिका र चलनचल्तीको दररेट फरक फरक हुँदाअलमलसिर्जना भएको तातोपानीका टेकबहादुर फगामीले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले सरोकारवालाहरुसंग छलफल गरेर वडा समितिको सिफारीस अनुसार नगरसभाबाट करको दर निर्धारण भएको बताउँदै सर्वसाधारणलाई मर्का पर्नेगरी कर उठाउने नियत नभएको बताउनुभयो । हालैको नगरकार्यपालिकाको बैठकले घडेरी योग्य जग्गाको ५० फिट सम्मलाई घडेरी र त्यसभन्दा बढीलाई खेतबारी जे छ त्यहीको आधार मानेर सम्पत्ति मूल्याङकन गर्ने निर्णय गरी संसोधनको प्रक्रियामा रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । घडेरीसंग जोडिएका अन्य जग्गाको मूल्याङ्कनमा देखिएको समस्या फुकाउन कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको चरणमा रहेको लेखा अधिकृत युक्तप्रसाद शर्माले बताउनुभयो ।
मंगलाघाट निवासी मालपोत कार्यालयमा लामो समय काम गरेका कृष्णबहादुर बानियाले नगरपालिकाले बजारलाई आधार मानेर सम्पत्तिको मूल्याङ्कन गर्दा ग्रामिण क्षेत्रका बासिन्दालाई मर्का परेको बताउनुभयो । सम्पत्तिको मूल्याङकन प्रगतिशिल हुनुपर्ने उहाँको धारणा छ । बेनीनगरपालिकाले चालु आर्थिक वर्षमा एकिकृत सम्पत्ति करबाट एक करोड रुपैया आम्दानी गर्ने लक्ष्य राखेको छ । बेनपा ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले सडक, सडकको क्षेत्राधिकार, घडेरी र घडेरीसंगैको जग्गालाई एउटै आधारमा मूल्याङ्क गरिदा समस्या भएको बताउनुभयो । “हामीलाई पनी अनुभव भएन्, विज्ञ र अरु ठाउँमा लागु गरिएको आधारलाई मानेर मूल्याङकन गर्दा अहिले ब्यवहारीक भएनकी जस्तो लागेको छ” वडा अध्यक्ष पौडेलले भन्नुभयो “नियतले होईन अनुभवको कमीले कमजोरी भएको हो ।
जनताको समस्याको सम्बोधन गर्र्ने पक्षमा छौ ।” नगरकार्यपालिकाको आर्थिक विकास समितिका संयोजक रहेका बेनपा ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाले एकिकृत सम्पत्तिकर मूल्याङ्कनका केही आधारहरु संसोधनको प्रक्रिया अघि बढेको बताउनुभयो । “नगरको विकासका लागि आर्थिक स्रोत जुटाउन एकिकृत सम्पत्ति कर लगाएका छौ” बानियाले भन्नुभयो “जटिलतालाई समाधान गरेर सहज बनाउछौ ।”
रिखार दैनिकबाट साभार