यान्त्रिक हलोले धान रोपाई ! खेत जोत्न थाले महिला ! (फोटो फिचर)
- १५ असार २०७५, शुक्रबार
- कमल खत्री
- 4871 पटक पढिएको
म्याग्दी, १५ असार । महिलाहरुले खेत जोत्न थालेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीको ग्रामीण भेगमा हिजो आज महिलाहरुले पनि खेत जोत्ने गरेका छन् । परम्परागत रुपमा गोरुको सहायताले महिलाहरुले खेत जोत्न नहुने परम्परा रहेपनि पछिल्लो समय यान्त्रिक हलो गाउँ गाउँमा भित्रिएपछि महिलाहरुले पनि खेत जोत्न थालेका हुन् । विहिवार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाईमा यान्त्रिक हलोले खेत जोतीरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि महिलाहरुले समेत खेत जोत्न सकिने सुविधा भएको बताउनुभयो ।
‘‘ गोरुले जोत्दा महिलाले हलो छुन हुँदैन भन्थे, खेत जोत्नको लागि मान्छे खोज्नुपर्ने बाध्यता थियो, अहिले यान्त्रिक हलो भित्रिएपछि भाडामा लिएर आफैले समेत जोत्ने गर्छौ’’–केसीले भन्नुभयो । पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको सन्दर्भमा यान्त्रिक हलोको प्रयोग बढीरहेको छ । छिटो र छरितो रुपमा खेत जोत्न सकिने भएकाले पनि कृर्षकहरु यान्त्रिक हलोको प्रयोगतर्फ आकर्षित भैरहेका छन् । गोरु पाल्न झण्झट हुने गरेको अबस्थामा आफुलाई आबश्यक परेको समयको लागी मात्रै खर्च गरेर पनि खेत जोत्न सकिने भएकाले यान्त्रिक हलो कृषकहरुलाई उपयोगी बनेको मौवाफाँटका कृषक मुकुन्द शर्माले बताउनभुयो ।
गोरुको विकल्पमा ट्याक्टरको प्रयोगले खेत रोपाई लगायतको खेती गर्दा लागत समेत कम लाग्ने उहाँले अनुभब सुनाउनुभयो । शर्मा सहित स्थानीय कृषकहरु मिलेर २ वटा हाते ट्याक्टरको रुपमा चिनिने यान्त्रिक हलो खरिद गरेका छन् । यस बर्ष नयाँ किनेको रु ७० हजार मुल्य बराबरको यान्त्रिक हलोमा रघुगंगा गाउँपालिको ५० प्रतिशत अनुदान दिएको अर्का कृषक मुक्ति सुवेदीले बताउनुभयो । ‘‘ गोरुले जोत्दा बर्षभरी पात्न प¥र्यो, लागत पनी बढी हुन्छ, साँधसिमानामा रहेका अन्य व्यक्तिहरुको बाली खाइदिने डर पनि हुन्छ, तर यान्त्रिक हलोले जोत्दा समग्रमा छिटो र छरितो संगै लागत समेत कम हुन आउँछ’’– सुवेदीले भन्नुभयो ।
कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले रघुगंगा गाउँपालिकाले प्रविधिमैत्री कृषितर्फ कृषकलाई आकर्षित गर्ने नीति लिएको छ । यस बर्ष गाउँपालिकाले कृषकहरुको माग बमोजिम ७ वटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको छ । गाउँपालिकाले पिप्ले र मौवाफाँटमा ४ वटा , भगवती, पाखापानी र चिमखोलामा एक÷एक वटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको गाउँपालिकाका कृषि संयोजक चन्द्रकुमार आलले जानकारी दिनुभयो ।
थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्ने झन्झट नहुने र कम लागतमा खेती गर्न सकिने रु ७० हजार बराबरको हलोलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो । ‘‘ गाउँघरमा जनशक्तिको अभाब छ, गोरु पाल्नको लागि घाँसदेखि गोठ सम्मको बन्दोबस्त गर्नुपर्ने झण्झटलाई हटाउन प्रविधिमैत्री कृषिमा जोड दिएका छौँ, यान्त्रिक हलोतर्फ कृषकहरुलाई आकर्षित गराएर व्यवसायिक बनाउने हाम्रो लक्ष्य छ’’–गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ।
कम लागतमा कृषि उपज उत्पादन गर्न सकेमा मात्रै बाँझो जमिनलाई उपोगमा ल्याउन सकिने भएकाले म्याग्दीका स्थानीय तहहरुले आगामी बर्षको नीती तथा कार्यक्रममा समेत खेतीयोग्य जमिनको उपयोग गर्ने नीतिलाई अघि सारेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका संगै मंगला, धौलागिरी र मालिका गाउँपालिकाले समेत यस बर्ष कृषकहरुलाई अनुदानमा यान्त्रिक हलो वितरण गरेका छन् ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l