कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- २४ असार २०८२, मंगलवार
- 1 पटक पढिएको
म्याग्दी । मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आज साँझ एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।
छुकार कालीगण्डकी नदीको सहायक खोला हो । यहाँको अन्नपूर्ण गाउँपालिकाको गोप्चेपानी टितर, दाना घरा, सुकेबगर, गुइँठे भुरुङ, तातोपानी, पोखरेबगर, ठूलोबगर, महभिर, तिप्ल्याङ, बैसरी, घुमाउने ताल, तिलकेनी र बेनीको कालीपुल क्षेत्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती हुन् । नदीमा बाढीको सतह बढ्दा तटीय क्षेत्रमा कटान हुनसक्ने भएकाले सतर्कता अपनाउन स्थानीयबासीलाई प्रशासनले आग्रह गरेको हो ।