पुनहिलमा विश्व पर्यटन दिवस मनाइयो

  • ११ आश्विन २०७४, बुधबार
  • 2187 पटक पढिएको

 

म्याग्दी ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल पुनहिलमा बुधबार विभिन्न कार्यक्रम गरेर ३९ औ विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र घोडेपानी पर्यटन व्यवस्थापन उपसमितिको आयोजनामा समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा अवस्थित पुनहिल भ्रमणमा आएका पर्यटकलाई स्वागत, टिसर्ट वितरण र चियापान गरेर दिवस मनाइएको हो ।


सुर्योदय र हिमशृङखलाको अवलोकनका लागि आएका पर्यटकहरुलाई घोडेपानी पुनहिल क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले टिसर्ट वितरण गरिएको घोडेपानीका होटल व्यवसायी टेकसर वुद्धुजाले जानकारी दिनुभयो । कार्यक्रममा अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले पर्यटन, जलस्रोत र कृषिको विकास गरि अन्नपूर्ण गाउँपालीकालाई सम्बृद्ध बनाउने निती लिइएको बताउनुभयो । अध्यक्ष पुनले गाउँपालीकाको पर्यटन विकासका लागि स्थानीय तह, पर्यटन संग सम्बद्ध संस्था, निजी क्षेत्र र स्थानीय बासिन्दा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसैबिच केही दिनयता म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटक आगमन बढेको छ । दैनिक तिन सय जनाको हाराहारीमा पर्यटक भित्र्न थालेको होटल व्यवसायी वुद्धुजाले जानकारी दिनुभयो । अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने घोडेपानी पुनहिल सुर्योदय, हिमशृङखला, गुराँसे जंगल, वन्यजन्तु, वनस्पती र मगर संस्कृतीको अवलोकनका लागि प्रसिद्ध पर्यटकीय गन्तब्य स्थल हो ।