बेनी नगरपालीकाका सडक मर्मत

  • ९ आश्विन २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2838 पटक पढिएको

बेनी ९ असोज । बेनी नगरपालीकाको विभिन्न वडालाई जोड्ने सडक मर्मत गरिएको छ । बर्षातका कारण पहिरो खस्ने, भत्कीने, हिलो जम्ने र खोल्सामा आएको बाढीले बगाएर अवरुद्ध बनेका सडक मर्मत गरिएको हो ।

बेनी नगरपालीका, वडा कार्यालयको समन्वय तथा जनप्रतिनिधिहरुको पहलमा सदरमुकाम बेनी बजारदेखि वडाका बस्तीहरु जोड्ने सडक मर्मत गरिएको जनाइएको छ । १२ वटा सडक मर्मतका लागि दश लाख रुपैया बिनियोजन गरिएकोमा सोमबारसम्म १० वटा सडक मर्मत कार्य सकिएको नगरपालीकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो ।

एक लाख पचास हजार रुपैया बिनियोजित अर्थुङ्गे पुरुण्डी पुलाचौर नयाँगाउँ डडुवा र एक लाख रुपैया बिनियोजित अर्थुङ्गे भिरमुनी पुलाचौर चिप्लेटी भुतपानी मोटरबाट मर्मतको काम सोमबारदेखि सुरु भएको छ । चाडपर्वको समयमा सर्वसाधारणलाई आवत जावत र सामान ढुवानीमा सुबिधा पुगोस भनेर वडाहरु जोड्ने सडक मर्मत गरिएको बेनपाका उपमेयर सञ्जु बरुवालले बताउनुभयो ।

नगरपालीकाले रत्नेचौर अर्जम भकुण्डे गौश्वारा सडकलाई एक लाख, आन्दबगर ढोडेनी सडकलाई तिस लाख, बेनी लभ्लिहिल भकुण्डे सडकलाई साठी हजार, दूधेखोला भकिम्ली ढोकाधुरी सडकलाई एक लाख, बेनी बगरफाँट थामडाँडा सडकलाई पचास हजार महारानीथान छाप डाँडाखेत ठूलोखोला सडकलाई एक लाख रुपैया बिनियोजन गरेको थियो ।
यसैगरी डल्लीपिपल राउवडा जमुनाखर्क मोटरबाटोलाई साठी हजार, डम्मरा माझखेत पंगालभिर सडकलाई पचास हजार अर्थुङ्गे तोरीपानी पात्लेखेत सडकलाई एक लाख र गलेश्वर काउलेगौडा पात्लेखेत सडक मर्मतका लागि एक लाख रुपैया बिनियोजन भएको थियो ।
नगरपालीकाबाट बिनियोजित बजेट पर्याप्त नहुँदा कतिपय ठाउँमा स्थानीय बासिन्दाहरुले श्रमदान र अन्य स्रोत जुटाएर पनी सडक मर्मत गरेका छन् । सडक मर्मत भएपछि सर्वसाधारणलाई आवत जावतका साथै खाद्यान्न, निर्माण सामाग्री ढुवानी र ग्रामिण क्षेत्रमा उत्पादीत कृषि तथा पशुजन्य बस्तु निकासीमा राहत मिलेको छ ।

 

सन्तोष गौतम