पहिरोले अबरुद्ध बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो

  • ९ आश्विन २०७४, सोमबार
  • 2107 पटक पढिएको

म्याग्दी ९ असोज ।पहिरोले अबरुद्ध बनेको बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने यस सडिक खण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि अबरुद्ध बनेको थियो ।

७६ किलोमिटर दुरीको सडकमा सिधा सवारी सञ्चालन नहुँदा पर्यटक तथा सर्वसाधारणहरु समस्यामा परेका थिए । बिशेष गरि मुस्ताङमा उत्पादन भएको स्याम बजारीकरणमा समेत समस्या आएको थियो । डोजरको सहायताले पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रशिङ शेरचनले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीको पाँच दिनको पहलमा सडक सञ्चालन गरिएको हो । गजुरमुखी निर्माण कम्पनीको दुई वटा डोजर सडक मर्मतमा परिचालन गरिएको थियो ।

सडक खुलाउन नेपाली सेनाको रोहबरमा बिस्पोटक पदार्थ प्रयोग गरेर बलास्टिङ समेत गरि पहिरो पन्छाईएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।