बेनीमा सर्वाधिक पुरस्कार राशीको तेस्रो वौद्धकप फुटबल प्रतियोगिता सुरु

प्यारागलाईडीङबाट खेलमैदानमा बल खसालेर उद्घाटन गरियो

  • १ आश्विन २०७४, आईतवार
  • धिरन खत्री
  • 4253 पटक पढिएको

म्याग्दी १ असोज । म्याग्दी सदरमुकाम बेनीमा आईतबारदेखि धौलागिरि क्षेत्रकै सर्बाधिक पुरुस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ सुरु भएको छ । बेनपा– ७ मंगलाघाटमा रहेको वौद्ध युवा कल्व र मंगला आमा समूहले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा २५ टिमले सहभागिता जनाएका छन् ।

मंगला आमा समूह सहआयोजक रहेको प्रतियोगिताको उद्घाटन खेलमा दोस्रो वौद्ध कपको च्याम्पीयन माउन्ट एभरेष्ट आवासीय माविलाई जिल्ला प्रहरी कार्यालयले शून्यका बिरुद्ध १ गोल गर्दै बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन गर्दै म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले प्रतियोगिताले म्याग्दीमा फुटवल खेलको विकासमा सहयोग पुग्ने भन्दै समाज परिवर्तनका लागि युवा परिचालनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले खेलकुदको विकासका लागि पूर्वाधार र खेलाडीई प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो । असोज ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार प्राप्त गर्ने वौद्ध युवा कल्वले जनाएको छ ।


सेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशाशित टिमलाई दश हजार रुपैयाको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छरछ हजार नगद सहित प्रदानपत्र प्रदान गरिने कल्वले जनाएको छ । वौद्ध युवा कल्वका अध्यक्ष बिजय किसानको अध्यक्षता, पुर्व सचिव श्यामसुन्दर कडेलको सञ्चालन र मुल संयोजक सचिन शाक्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सो प्रतियोगिताको पुरस्कार राशी धौलागिरी क्षेत्रमा हालसम्म आयोजित प्रतियोगिता मध्यको सबैभन्दा बढी रहेको आयोजकले दावी गरेका छन् । स्थानीय कल्वमा सहभागी भएर खेल्नका लागि राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु पनी आएका छन् । प्रतियोगिताको उद्घाटन प्यारागलाईडीङबाट खेलमैदानमा बल खसालेर गरिएको थियो ।

लभ्लिहिलबाट प्यारागलाईडीङको सम्भावनाको अध्ययनका लागि कल्वको पहलमा प्यारागलाईडीङ व्यवसायीहरु बेनीमा आएका छन् । लभ्लिहिलबाट प्यारागलाईडीङ सञ्चालन गर्न सकेमा बेनीमा नयाँ पर्यटकीय आकर्षण हुने जनाइएको छ । दसै सुरु हुनपूर्व बेनीका विभिन्न क्लबहरुले पालैपालो प्रतियोगिता सञ्चालन गर्ने परम्परा अनुसार बौद्ध युवा क्लबले तेस्रो संस्करण सञ्चालन गरेको हो ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l