कुण्डको भरमा विद्यालयः तातोपानी कुण्डबाट सरस्वती माविलाई रु १७ लाख बढी सहयोग

  • २१ भाद्र २०७४, बुधबार
  • कमल खत्री
  • 2983 पटक पढिएको

म्याग्दी, २१ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । आर्थिक बर्ष २०७३/०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरि नियुक्त भएका १० जना शिक्षकहरुको तलब बराबरको रु १७ लाख ७४ हजार रुपैयाँ सहयोग गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

प्रावि तहको स्विकृत दरबन्दि रहेको यस विद्यालयमा कार्यरत कक्षा ६ देखि १० सम्मका शिक्षकहरुको तलब रकम कुण्डले नै व्यहोरर्दै आएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउन कुण्डले निरन्तर रुपमा सहयोग गर्दै आएको विद्यालयका प्रधानध्यापक सुरथ बानियाँले बताउनुभयो । गत आर्थिक बर्षमा कुण्डले विद्यालयमा भवन निर्माण कार्यमा समेत थप रु ६ लाख उपलब्ध गराएको थियो । कुण्डमा स्नान गर्न आउनेहरुबाट लिने शुल्कबाट हुने आम्दानीलाई व्यवस्थापन समितिले तातोपानी क्षेत्रको सामाजिक तथा भौतिक पूर्वाधार विकासमा परिचालन गर्दै आएको छ । गएको आबमा कुण्डले रु ८ लाख रुपैयाँ तत्लो बजारमा नाली निर्माण योजनामा सहयोग गरेको थियो ।

रु २ सय शुल्कमा ११ दिनसम्म नियमित रुपमा तातोपानीको कुण्डमा स्नान गर्न सकिने व्यवस्था मिलाएको कुण्ड व्यवस्थापन समितिलाई विभिन्न ठाउँबाट आएका विरामीहरुले आफ्नो रोग निको भएको खुसीयालीमा थप चन्दा समेत दिने गरेका छन् ।गत आर्थिक बर्षमा आएका १६ हजार विरामीहरुबाट लिएको प्रवेशशुल्कबाट रु ३२ लाख संकलन गरेको समितिलाई सहयोगदाताहरुले थप रु १८ लाख ९७ हजार चन्दा सहयोग गरेका थिए । त्यस्तै पर्यटन कार्यालय पोखराबाट प्राप्त भएको रु ९ लाख ४१ हजार बजेटमा कुण्डले आन्तरिक स्रोतबाट बजेट थप गरि कुण्ड परिसरमा १५० जनाले एकै समयमा आराम गर्न सक्ने विश्राम स्थल समेत निर्माण गरेको कुण्डका सहसचिब कुमार केसीले बताउनुभयो ।

कुण्डमा गत आबमा अघिल्लो वर्षको २३ लाख दुई हजार ५९४ सहित ८८ लाख ९३ हजार २६६ रुपैया आम्दानी भएको मध्ये ६३ लाख ९३ हजार ६८ रुपैया खर्च भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीमा स्नान गरेमा बाथ, चोट पटक लागेको, सुन्निने, ग्यास्ट्रिक, सर्के मर्केको सम्बन्धि स्वास्थ्य समस्या निको हुने गरेको छ । कुण्डले यस अघि स्थानीय स्वास्थ्य चौकी निर्माणको लागि रु १८ लाख ५० हजार बराबरको जग्गा खरिद गरि उपलब्ध गराएको थियो भने प्रहरी चौकीको भवन निर्माणर्थ जग्गा खरिदमा रु ४ लाख २५ हजार सहयोग गरेको सचिब कृष्ण खड्काले जानकारी दिनुभयो

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l