अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा सुदिन पौडेल निर्विरोध, उपमहासचिबमा कुशल पौडेलको उम्मेदवारी

  • १२ भाद्र २०७४, सोमबार
  • 3636 पटक पढिएको

म्याग्दी, १३ भदौ । काठमाण्डौमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा म्याग्दीका सुदिन पौडेल निर्विरोध चयन भएका छन् । २१ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको क्रममा प्रदेश नम्बर ४ बाट ११ जनाको खुला सदस्य तर्फबाट पौडेल निर्विरोध चयन भएका हुन् । अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष समेत रहेका पौडेल सम्मेलनको आयोजक समिति सदस्य थिए ।

त्यस्तै, नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा म्याग्दीका विद्यार्थी नेता कुशल पौडेलले उप–महासचिब पदमा उम्मेदवारी दर्ता गरेका छन् । सोमबारसम्म सहमतीबाट नेतृत्व चयनको लागि भएको प्रयास सफल नभएपछि अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचन मार्फत चुनिन लागेको हो । अखिल क्रान्तिकारीको उप–महासचिब पदमा उम्मेदवारी दर्ता गरेका कुशल पौडेल यस अघि प्रदेश नम्बर ४ को संयोजक थिए ।
२०५८ सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्य भएका पौडेल त्यस यता जिल्ला अध्यक्ष, केन्द्रिय सचिबालय सदस्य, प्रदेश नम्बर ४ को संयोजक तथा केन्द्रिय सचिब रहेर काम गरिसकेका छन् । पौडेल माओवादी आन्दोलनमा भुमिगत हुँदैदेखि सक्रिय भएर लागेका विद्यार्थी नेता हुन् । उनको परिवार समेत माओवादी आन्दोलनको क्रममा पूर्ण रुपमा भूमिगत भएको थियो ।

अखिल क्रान्तिकारीको नेतृत्वको लागि अध्यक्ष पदमा अनिल शर्मा र रञ्जित तामाङ प्रतिस्पर्धामा रहेका छन् । अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनले एक अध्यक्ष, ९ उपाध्यक्ष, १ महासचिव, ५ उपमहासचिव, १६ सचिव, १ कोषाध्यक्ष गरी ३३ सदस्यीय पदाधिकारी सहित २ एक ४३ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने भएको छ ।