रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँटसंग झिँ र पाखापानीलाई जोड्न राहुघाटमा पक्कि पुल बनाउने

सबै वडाहरुलाई जोड्ने गरि रिङरोडको अबधारण तयार

  • १२ भाद्र २०७४, सोमबार
  • कमल खत्री
  • 5838 पटक पढिएको

म्याग्दी, ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटसंग गाउँपालिकाका सबै वडाहरुलाई सडक सञ्जालसंग जोडीने भएको छ । भौगोलिक रुपमा विकटता रहेकाले गाउँपालिकाको केन्द्र सम्म पुगेर सहज रुपमा सेवा सुविधा लिन सक्ने पूर्वाधारहरु सबै वडाहरुमा नभएकाले गाउँपालिकाको केन्द्रसम्म पुग्नका लागि सबै वडाहरुलाई सडक सञ्जालमा जोड्ने योजनालाई गाउँपालिकाले अगाडी सारेको हो ।


हालै गाउँपालिकाको दोस्रो गाउँ सभा बैठकले बहुसंख्यक नागरिकलाई पायक पर्ने गरि बहुमतले स्थायी केन्द्र वडा नम्बर ३ को मौवाफाँटलाई तोकेको थियो । तर सो केन्द्रमा पुग्नको लागि राहुघाट खोला पारिका वडानम्बर ५ भिँ र वडा नम्बर ६ पाखापानीतर्फका नागरिकलाई सहज रुपमा केन्द्रमा आउने व्यवस्था नभएकाले तत्काल सडक सञ्जाल विस्तार गर्ने योजना अगाडी सारेको गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले बताउनुभयो ।


उहाँले झिँ र दग्नामको फेदी बुक्लमा राहुघाट खोला वारपारको लागि पक्की पुल निर्माण गर्ने र मौवाफाँट हुँदै दग्नामको बुक्लसम्म पुगेको सडकलाई विस्तार गरि झिँ र पाखापानीमा जोड्नका लागि आबश्यक पहल भईरहेको बताउनुृभयो । ‘‘ बुक्लमा पुल निर्माण भएमा सडक सञ्जालले तत्कालै जोडिन्छ, त्यति भएपछि दुई वडाका नागरिकलाई सहज रुपमा मौवाफाँट सम्म आउने व्यवस्था हुन्छ, त्यसको लागि आबश्यक पहल गरेका छाँै,’’– गाउँपालिका प्रमुख भण्डारीले भन्नुभयो ।


उहाँका अनुसार, गाउँपालिकाका वारी र पारीका जनतालाई आवत जावतमा सहज होस भनेर बुक्ल र झिँ जोड्ने गरि पक्कि पुल र सडक विस्तार योजनाको लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीर बहादुर वलायर समक्ष आबश्यक बजेट विनियोजनको लागि प्रस्ताब पेश गरिएको छ । त्यस्तैगरि गाउँपालिकामा रिङरोडको अबधारण अनुसार विभिन्न सडक सञ्जालको लागि समेत बजेट माग गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि झिँ र पाखापानी तथा पाखापानीसम्म पुगेको सडकलाई विस्तार गरि ठाडाखानी हुदै कुईनेखानी पु¥याउने र कोटगाउँ पुगेको सडकलाई रायखोर हुदै घ्यासीखर्क जोड्ने योजना अघि सारिएको छ ।

अर्कोतर्फ गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि अघि बढेको सडक अहिले दग्नामस्थित अजिंगर भीरसम्म पुगेको छ । त्यो सडकलाई अघि बढाएर दरमिजा, चिमखोला हुदै घ्यासीखर्क पु¥याउने गरि योजना बनाईएको छ । रघुगंगाको वारी र पारी भएर अघि बढेको सडकलाई घ्यासीखर्कस्थित रितुङ मावि नजिकै पक्कीपुल निर्माण गरि रिङरोडमा परिणत गर्ने योजना बनाएको गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले जानकारी दिनुभयो । गाउँपालिका अन्र्तगत पिप्ले, भगवति, बेगखोला हुदै चिमखोला पुगेको सडकलाई तत्कालका लागि स्तरोन्नति गर्ने र चिमखोला तथा कुईनमँगलेलाई दग्नाम हुदै अघि बढेको सडकले जोडेपछि त्यसलाई ‘स्थायी’ सडक बनाउने गाउँपालिकाको योजना छ ।

गाउँपालिकाले तत्काल दरमिजा देखि पाखापानी/कोटगाउँ जोड्न रघुगंगा माथि झोलुङ्गे पुल निर्माण योजनालाई पनि अघि सारेको छ । गाउँपालिकामा समावेश सवै वडाहरुलाई जोड्ने गरि सडक, पक्कि पुल लगायतका योजनाहरुलाई आबश्यक बजेट विनियोजनको लागि गाउँपालिका प्रमुख भण्डारी सहित सांसद रेशम बहादुर बानियाँ, म्याग्दी काँग्रेसका नेता केवी भण्डारी, शिव केसी लगायतको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाई ज्ञापनपत्र बुझाएका हुन् । पुरक बजेट मार्फत मागहरु सम्बोधन हुने आवश्वासन आएको गाउँपालिका प्रमुख भण्डारीले बताउनुभयो । उहाँले कुईनमंगल क्षेत्रमा सञ्चार सेवाको लागि टेलिफोन टावर राख्नका लागि आबश्यक पहल भईरहेको समेत बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l