म्याग्दीमा सचेतनामूलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाइने

  • १८ बैशाख २०८१, मंगलवार
  • 201 पटक पढिएको

म्याग्दी १८ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाइने भएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि सप्ताह मनाउने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी बरिष्ठ नायब निरिक्षक राजकुमार केसीले बताउनुभयो ।

उहाँका अनुसार, गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकै साथ सुरु हुने सप्ताहलाई जिल्लामा भव्य र प्रभाबकारी बनाउने गरि तयारी गरिएको छ । सप्ताहलाई यात्रु, चालक, र प्रहरीबिचको सम्वन्धलाई नजिक बनाउने, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनिकरणमा केन्द्रित गरिएको कार्यालय प्रमुख केसीको भनाई छ । ट्राफिक सप्ताहलाई बेनीमा जिल्ला स्थित जनप्रतिनिधि, सरोकारवाला कार्यालय, संघ संस्था, सर्वसाधारण, सवारी चालक लगायतको सहभागीतामा प्रभातफेरी सहित ¥याली गरि उद्घाटन गर्ने तयारी गरिएको छ ।
ट्राफिक सप्ताह अन्तरगत लामो दुरीका सवारी साधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिगर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालाहरुलाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोग सम्वन्धी चालक, यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरि उक्त अवसरमा प्रहरी संगसंगै विभिन्न संघ संस्था र विद्यालयबाट स्वंमसेवक परिचालन गरेर ट्राफिक सचेतना अभिवृद्धि गर्ने, शहरी क्षेत्रमा पार्किङ व्यवस्थापनमा सहजीकरण गर्ने, लघु सचेतना कार्यक्रम गरेर यात्रु , चालक र सर्वसाधारणलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने, चालकको निःशूल्क स्वास्थ्य परिक्षण गर्ने, सञ्चारकर्मी र सरोकारवालासंग अन्तरक्रिया संगै रक्तदान र दिप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।