गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको कार्यशाला

  • १७ बैशाख २०८१, सोमबार
  • 335 पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको एक दिने कार्यशाला सम्पन्न भएको छ । नेफस्कुनको प्राविधिक सहयोग र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सोमबार १० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा म्याग्दी, कास्की, गोरखा, तनहुँ, स्याङ्जाका विभिन्न ११ वटा सहकारीका संचालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यशालामा प्रोवेसन गण्डकी कलष्टरमा आबद्ध सहकारीको वित्तिय अवस्थाको बारेमा प्रस्तुतीकरण गरेर छलफल समेत गरिएको थियो । कार्यक्रममा सहकारीका चुनौति,समस्या समाधानमा गर्नुपर्ने तत्परता र सहकारीका अवसरहरुको सन्दर्भमा समेत छलफल र अन्तरक्रिया गरिएको भूतपूर्व सैनिक सहकारीका प्रवन्धक नारायण सुवेदीले जानकारी दिनुभयो । कार्यशालाको सहजीकरण गर्दै नेफ्स्कुनका कार्यक्रम अधिकृत सुरज चालिसेले सहकारीहरुले आर्थिक कारोबार संगै सदस्यहरुको आर्थिक अवस्थामा सक्षम बनाउन सिपमुलक, व्यावसायिक र उद्यमशिलता तालिमहरु समेत सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरुलाई शुसासीत बनाउन सकेमा मात्रै बचत र ऋणको कारोवारलाई सुरक्षित बनाउन सकिने भएकाले सहकारी संस्थाहरुलाई सहकारीका सिद्धान्त, मार्गदर्शन र प्रणालीमा रहेर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भूतपूर्व सैनिक सहकारीका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले संस्थागत रुपमा निर्णय नगरिकन आर्थिक कारोवार गर्ने केहि सहकारीहरुको खराब गतिविधिको कारण अन्य सहकारीहरुमाथि समेत प्रश्न उठ्न थालेको बताउँदै सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विधि, प्रकृया र सिद्धान्तको पालना जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले कारोवारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेफस्कुनद्धारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास ( प्रोबेसन) कार्यक्रममा आबद्ध सहकारीहरुले सहकारीका अन्तराष्ट्रिय गुणस्तरका सुचक र मापदण्ड पुरा गरेर उत्कृष्ट र व्यवस्थित बन्न सघाउने बताउनुभयो । भूतपूर्व सैनिक सहकारीका कार्यवहाक अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र सदस्य रामप्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।