सूचनाको हक कार्यान्वयनबारे बेनीमा अन्र्तक्रिया

  • २ भाद्र २०७४, शुक्रबार
  • 2157 पटक पढिएको

म्याग्दी, २ भदौ । दसौ राष्ट्रिय सूचना दिवसको अवसरमा शुक्रबार बेनीमा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचना दिवस मूल समारोह समिति, म्याग्दीले आयोजना गरेको कार्यक्रममा सूचनाको हकको कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखा परेका समस्या र समाधानका उपायका विषयमा छलफल भएको छ । कार्यक्रममा कार्यालय प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले आम नागरीकले सहज र सरल रुपमा सूचना पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । सूचनाको हकको व्यवहारीक कार्यान्वयनबाट पारदर्शीता र शुसासन कायम गर्न सहयोग गर्न तथा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले कानुनले व्यवस्था गरे अनुसार नागरीकले मागेका सूचना उपलब्ध गराउनु राज्यका निकायको दायीत्व भएको बताउदै सूचनाको अद्यावधिक गर्न सूचना अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

जिल्ला हुलाक कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठले अनुगमनका क्रममा अधिकांश कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेको तर लिखित रुपमा सूचना माग गर्ने र प्रवाह गरेको नपाइएको बताउनुभयो । कार्यक्रममा सहभागी सूचना अधिकारीहरुले मौखीक रुपमा सूचना दिने गरिएपनी लिखत सूचना माग नभएकाले अभिलेख राख्न समस्या भएको बताएका थिए । उनिहरुले सूचनाको हकमा भएका ऐनको बारेमा तालीम र अभिमुखीकरणको आवश्यकता रहेको बताएका थिए । यसैगरी सामाजिक सञ्जाल र वेभ साईट मार्फत पनी सूचना प्रवाह गर्न सकिने केही कार्यालयले त्यसो पनी गरेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षता, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको स्वागत र सचिव गोरखनाथ सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।