भरत मल्लको सफलताः ‘बगरमा पसिना, लाखौँ कमाई हरेक महिना’ (फोटो कथा)

  • ११ श्रावण २०७४, बुधबार
  • कमल खत्री
  • 5351 पटक पढिएको

म्याग्दी, ११ साउन । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँट तर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेवैमा रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने कुरा गर्दा धेरैलाई पत्यार लागेको थिएन् । तर अहिले मल्लले त्यही बगरको झाडीमा कृषि फार्म मात्रै खोलेका छैनन् । नौँ बर्षको अबधिमा उनले नमुना कृषि फार्मको रुपमा स्थापित गराउन समेत सफल भएका छन् ।

बर्षौदेखि उपयोग विहिन बनेर झाँडी बनेको जग्गालाई खनजोत र मलजल गरि ५२ बर्षिय मल्लले सुरुमा तरकारी खेती थालेका थिए । पछि विस्तारै उनले उर्भराशक्ति नभएको बगरलाई बाहिरबाट माटो ल्याएर समेत पुर्दै त्यसलाई उर्भर भूमि बनाए । अहिले त्यहि बगर मल्लको दैनिक जिविकोपाजर्नको माध्ययम मात्रै बनेको छैन्, उनलाई आकर्षक कमाई गर्ने थलो समेत बन्दा सबै दंग छन् । वि.स. २०६५ सालदेखि मल्लले राहुघाटमा तरकारी खेतीबाट कृषि फार्म सुरु गरेका थिए ।

२०६९ सालदेखि मल्लले कृषिसंगै व्यवसायिक रुपमा बाख्रापालन समेत थप गरि भरत मल्ल राहुघाट कृषि फार्म सञ्चालनमा ल्याए । मल्लले अहिले ब्यवसायीक बहु आयामिक कृषि पेशाबाट राम्रो सफलता हासील गरेका छन् । तरकारी खेतीसंगै व्यवसायिक रुपमा बाख्रापालन, कुखुरापालन र भैसीपालनबाट दुध विक्रि गरि मल्ल स्वरोजगार बन्नुका साथै बार्षिक रुपमा आकर्षक कमाई गर्न सफल भएका हुन् । मल्लको अहिले मासिक रु २ लाखको हाराहारीमा कमाई छ ।

मल्लले अहिले टनेलमा गोलभेडाखेती संगै घिरौँला, बन्दा, काउली, खुर्सानी लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गदै आएका छन् । तरकारी खेतीबाट मात्रै बार्षिक ३ देखि ५ लाखसम्म कमाई हुने कृषक मल्लले बताए । उनको कृषि फार्ममा अहिले ७२ वटा जमुनापारी जातका बाख्रा, २ हजार ५ सय अण्डा दिने कुखुरा, दुई वटा भैसी रहेका छन् । यसै बर्षदेखि उनले खरायोपालन र लुईस जातको कुखुरा समेत पाल्न थालेका छन् । अष्टे«लियामा हुने लुईस जातको कुखुरा एक जोडीलाई ५ हजारमा काठमाण्डौबाट खरिद गरि ल्याएका मल्लको फार्ममा ७० वटा खरायो छ ।

सो फार्मबाट मल्ल आफू र परिवार बाहेक पाँच जनालाई रोजगारी समेत सृजना गरेका छन् । मल्लले कुखुरापालनबाट बार्षिक १५ लाख, बाख्रापालनबाट १८ देखि २० लाखसम्म आम्दानी हुने बताए । ‘‘ कुखुरापालन र बाख्रापालन फष्टाउँदै गएको छ, आम्दानी राम्रो हुन थालेपछि कुखुरा र बाख्राको खोरको क्षमता पनि बढाउँदै लगेको छु, अहिले बार्षिक रुपमा खर्च कटाएर २० देखि २२ लाख सम्म कमाई हुने गरेको छ’’–मल्लले भने । उनले फार्मबाट भएको आम्दानीलाई फार्मकै क्षमता विस्तारमा खर्चिएको बताए । अहिलेसम्म तरकारी खेती गर्ने जग्गा बनाउन, कुखुरा, बाख्रा र भैसी पालनको पूर्वाधार तयार गर्न झण्डै एक करोड खर्चिएको मल्लले जानकारी दिए ।

यसै बर्ष उनले रु ११ लाख लगानीमा १ हजार ५ सय कुखुराको चल्ला अट्ने खोर निर्माण गरेका छन् । मल्लले आफ्नो फार्म नजीकै गलेश्वरमा होटल र मासु पसल समेत खोलेका छन् । फार्मको नेतृत्व उनी आफै गर्छन भने होटल र मासु पसल उनकी श्रीमती कुमारी मल्लले चलाएकी छिन् । आफ्नै फार्मबाट उत्पादन हुने तरकारी र मासुजन्य पदार्थलाई आफ्नै होटल र मासुपसलबाट विक्रि गर्दा आम्दानी राम्रो हुने मल्लले बताईन् । आफ्नै पसल र बजार समेत नजीकै रहेकाले कृषि फार्मबाट उत्पादन हुने तरकारी तथा कुखुरा र बाख्रा बजारीकरणको लागि कुनै समस्या नरहेको उनको भनाई छ ।

गत दुई महिनाको अबधिमा मात्रै मल्लको फार्मबाट २२ वटा बोका विक्रि भएको छ । विदेश छाडेर स्वदेशमै कृषि पेशाबाट आत्मनिर्भर बन्ने प्रयासका साथ बहु–कृषि फार्म सञ्चालन गरेका मल्लको कुखुरापालन, बाख्रापालन नमुना रहेको जिल्ला पशु सेवा कार्यालयका पसु सेवा प्राविधिक डिल्लिराम रेग्मीले बताए ।

मल्लको प्रयासलाई सार्थक बनाउन जिल्ला पशु सेवा कार्यालयले सहयोग स्वरुप एक वटा प्रजनन योग्य बोका, मासु पसलको लागि एक लाख बराबरको सामाग्री सहित घाँसको विउ र विरुवा उपलब्ध गराएको बताउँदै आगामी दिनमा समेत मल्ललाई आबश्यक अनुदान र प्राविधिक सेवामा प्राथमिकता दिने रेग्मीले जानकारी दिए ।

पशु सेवा कार्यालयले यस बर्ष मल्ललाई खोरको क्षमता विस्तारको लागि रु १० हजार , ५०० चल्ला खरिदको लागि रु ३७ हजार र खोर सरसफाईको लागि करिब रु १० हजार बराबरको औषधीहरु उपलब्ध गराएको छ । मल्लको फार्मलाई गत बर्ष जिल्ला कृषि विकास कार्यालयले समेत स्वरोजगार कार्यक्रम अन्र्तगत रु ४० हजार अनुदान उपलब्ध गराएको थियो । एसएलसी सम्मको अध्ययन गरेका मल्ल १८ बर्षको उमेरमा रोजगारिको लागि साउदी अरब गएका थिए ।

मजदुरको रुपमा साउदी पुगेका मल्लले त्यहाँ ६ बर्षसम्म सवारी चालकको रुपमा काम गरेका थिए । विदेशमा अरुको गुलामी गर्नु भन्दा स्वदेशमै केही गर्छु भन्ने अठोट लिएर स्वदेश फर्किएका मल्लले जिल्लामै झण्डै १४ बर्ष यातयात व्यवसायि र सवारी चालकको रुपमा समय बिताए । यातयात क्षेत्रबाट कमाई राम्रो हुने भएपनि कच्ची सडकको कारण दुख र जोखिम बढी हुनेभएपछि मल्ल कृषितिर लागेका हुन् ।

‘‘ हिजो विदेशमा पसिना बगाईयो, तर उपलब्धी खासै गर्न सकिएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको थिएँ, अहिले आफ्नै परिवासंग बसेर सहज रुपमा दैनिकी चलाउन सकेको छु, अरुलाई पनि रोजगारि सृजना गरेको छु, यसैमा खुसी छु,’’– कृषक मल्लले थपे । महँगो ऋण खोजेर बिदेशमा दुख गर्न जानुभन्दा आफ्नै खेतबारीमा बाख्रापालन र तरकारी गरेमा बिदेशमा भन्दा राम्रो कमाई गर्न सकिने मल्लको अनुभव छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l