साउन २० मा जिससको निर्वाचन

  • ११ श्रावण २०७४, बुधबार
  • 2415 पटक पढिएको

म्याग्दी, ११ साउन । जिल्ला समन्वय समिति सभापतिका लागि साउन २० गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, साउन १८ गते उम्मेदवारी दर्ता र २० गते निर्वाचन हुनेछ । त्यसअघि साउन १६ गते मतदाता नामावली प्रकाशन हुनेछ ।

म्याग्दीमा जिल्ला समन्वय समितिमा सभापति सहित ९ सदस्य हुने यसअघि नै निर्णय भइसकेको छ । निर्वाचनमा स्थानीय तहको प्रमुख र उपप्रमुखले मात्र मतदान गर्ने अधिकार रहेपछि म्याग्दीमा यो निर्वाचन रोमाञ्चक हुने देखिएको छ । सभापति लगायत सदस्यको उम्मेदवार भने स्थानीय तहको प्रमुख÷उपप्रमुख सहित वडाअध्यक्ष र सदस्यहरु पनि बन्ने पाउने प्रावधान छ ।

जिससमा मताधिकार भएका ६ स्थानीय तहका १२ जना मतदाता मध्ये ६ जना काँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका छन् । एमाले–राप्रपा गठबन्धनबाट बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित राप्रपाकी सञ्जु बरुवाल निर्णायक हुन् । राप्रपाले निर्णायक रहँदा उसको समर्थन कता तिर भन्ने अहिले नै खुलेको छैन । यद्यपि निर्वाचनमा एमालेसँगै गठबन्धन गरेकाले यो जिससमा पनि सोही गठबन्धन रहने अनुमान गरिएको छ ।

राप्रपाले एमालेलाई नै समर्थन गर्दा पनि काँग्रेस र राप्रपा एमाले गठबन्धनको बराबर ६÷६ जना मतदाता हुनेछन् । काँग्रेसले अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा प्रमुख÷उपप्रमुख दुबै र मालिका तथा बेनी नगरपालिकामा प्रमुख जितेको छ भने एमालेले धवलागिरि र मालिकामा प्रमुख÷उपप्रमुख दुबै र मालिकामा उपप्रमुख जितेको छ । निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि निर्वाचन तयारी सुरु भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए ।