एनआरएनए बेलायतको अध्यक्षमा म्याग्देली योगकुमार फगामीको उम्मेदवारी घोषणा

  • ९ श्रावण २०७४, सोमबार
  • 4102 पटक पढिएको

म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा जन्मिएर हाल बेलायतलाई कर्मथलो बनाउँदै आउनुभएका योग कुमार फगामीले गैर आवासिय नेपाली संघ( एनआरएनए) बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आईतवार बेलायतमा एक कार्यक्रम आयोजना गरि फगामीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एनआरएनए बेलायतको वर्तमान उपाध्यक्ष समेत रहनुभएका फगामी एनआरएन यूकेको दुई पटक साधारण सदस्य तथा एकपटक महासचिव भएर संस्थाको कार्यसम्पादन गरिसक्नुभएको छ ।

ब्रिटिस सेनामा १७ वर्ष सेवा गर्नुभएका फगामी बेलायती सेनाबाट अबकास पाएपछि विगत १५ बर्षदेखि बेलायतको बेसिङस्टोकमा बस्दै आउनुभएको छ । एनआरएन यूकेमा रहेर विश्व परिवेशमा नेपालीपन, नेपाली मन र नेपाली कला र संस्कृतिलाई चिनाउन आफुले अध्यक्ष पदमा उम्मेवदारी दिएको बताउनुभयो । उम्मेदवारी घोषणा गर्दै फगामीले नागरिकताको निरन्तरताको अभियान, समृद्ध नेपाल निर्माण गर्ने, पर्यटन तथा लगानी भित्रयाउने, मातृभूमिका लागि आपतकालिन अवस्थामा राहतमा सदा तत्पर रहने र संस्थालाई सिस्टममा चलाउने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा योगेश क्षेत्री, शान्ति थापा,बेलायत कांग्रेस नेता डा. मिन राना भाट, नेम थापा, अमर मल्ल, ओमप्रसाद थापा, प्रकाश गुरुङ, राम गलामी, छविमाया पुन, लगायतले फगामीलाई बिजयीको अग्रिम शुभकामना दिनुभएको थियो भने रमेश सराङकोटीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । सो क्रममा फगामीले आफु अध्यक्षमा चुनिएपछि गरिने कार्ययोजना समेत सार्वजनिक गर्नुभएको थियो । कुशल नेतृत्वकर्ताको रुपमा पहिचान गराउनुभएका फगामीले आफ्नो जन्म गाउँ बेग र बाँदुकमा प्रवासीको सहयोगमा सडक निर्माण, विद्यालयमा कम्युटर कक्षा र अक्षयकोष स्थापना, मोना म्याग्दीको अध्यक्ष भएको बर्षमा जिल्लामा तिन वटा एम्बुलेन्स उपलब्ध संगै अक्षयकोष स्थापना जस्ता थुप्रै सामाजिक कार्यहरु गरिसक्नुभएको छ ।