बहुमुखी प्रतिभाका धनि परियार

  • ९ श्रावण २०७४, सोमबार
  • 7770 पटक पढिएको

सन्दीप खत्री  म्याग्दी । कोही मानिससँग जन्मजात नै प्रशस्त प्रतिभा हुन्छ त कोही मानिसले जिवनमा संघर्ष गर्दै आफूलाई बहुमुखी प्रतिभाको व्यक्तिको रुपमा स्थापित गर्छन् । म्याग्दी जिल्लामा पनि थुप्रै त्यस्ता व्यक्तिहरु छन् जो मेहनत र सघर्षले आफूलाई अब्बल बनाई सकेका छन् । तीनै मध्ये सानै उमेरमा विभिन्न क्षेत्रमा संघर्ष गर्दै आफूलाई बहुमुखी प्रतिभाको धनिको रुपमा स्थापित गर्ने युवा हुन् राजकुमार परियार ।  सानै उमेरदेखि कला क्षेत्रमा रुचि भएका उनी तेक्वान्दो खेलका प्रशिक्षक समेत हुन् । उनी कुशल नृत्यकारको रुपमा परिचित छन् । नृत्यकारसँगसँगै उनी गायक पनि हुन् । तेक्वान्दो खेलका प्रशिक्षक हुन भने राम्रो फुटवल खेलाडि पनि । झन्डै २०६६ सालदेखि नृत्यको क्षेत्रमा बाहिर आएका उनी थुप्रै प्रतियोगितामा प्रथम भएका छन्

। त्यही हाराहारीमा तेक्वान्दो लखेलबाट पनि पुरस्कार पाएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवमा चार पटकसम्म लगातार प्रथम हुन सफल भएको छ उनको टोली । केही समय अगाडि बेनीमा सम्पन्न प्रथम धौलागिरि साँस्कृतिक महोत्सवमा पनि उनी नेतृत्वको समूहले प्रथम स्थान हासिल गरेको थियो । उनले नृत्य प्रतियोगितामा सहभागीता जनाएर दोस्रो

हुने परेको अनुभव कम नै छ । म्याग्दी मात्रै नभएर जिल्ला बाहिर हुने विभिन्न प्रतियोगितामा पनि उनले प्रथम स्थान हासिल गरेका छन् भने थुप्रै अवार्डहरु समेत प्राप्त गरेका छन् । म्याग्दी जिल्लाका अधिकासँ गाउँहरुमा हुने मेला पर्वमा उनले आफ्नो नृत्य कौशल प्रस्तुत गरेका छन् । बेनीबजारमा रहेका विभिन्न विद्यालयहरुमा समेत समयअनुसार नृत्य प्रशिक्षण समेत गर्छन परियारले ।  नृत्यको क्षेत्रमा म्याग्दी जिल्लामा छुट्टै पहिचान बनाएका परियार आजभोलि तेक्वान्दोमा अलि बढी केन्द्रीत छन् । नृत्यको क्षेत्रबाट पनि उनको दैनिकी राम्रै चलेको थियो तर आफूसँग भएको सिप, क्षमता प्रयोग गरी दिगो आय आर्जनको बाटोको रुपमा उनले तेक्वान्दोको क्षेत्रलाई रोजेका हुन् । उनी भन्छन्–“जिल्लामा एउटा कुशल नृत्यकारको रुपमा आफ्नो पहिचान बनाई सकेको छु । अब मोड्लिङमा आफूलाई अगाडि बढाउने सोचमा छु ।”

तेक्वान्दो र मोड्लिङलाई एकैसाथ अगाडि बढाउने उनको योजना छ । नकुल ढकालको “हाई भन जवानी फर्कन्छ” गीतको म्युजिक भिडियोबाट उनले मोड्लिङको यात्रा सुरु गरेका हुन् । गायक÷मोडेल÷निर्देशक धुव्र जिसीले उनलाई मोड्लिङको क्षेत्रमा प्रवेश गराएका हुन् । त्यसपछि उनले “मनमा माया चोखो छ सानु”, “गुनासो पोख मायाले” तिजी गीत लगायतका म्युजिक भिडियोमा अभिनय गरीसकेका छन् ।  दर्शकको माया, साथीभाईको हौसला र आफूले पाएको विभिन्न पुरस्कार, अवार्ड उनका प्रेरणका स्रोत हुन् । उनी भन्छन्–“म संगीत भनेपछि हुरुक्कै हुने मान्छे हुँ । मेरो जिन्दगी नै कला हो जस्तो लाग्छ । त्यसैले आफ्नो जिवन कला क्षेत्रमै विताउने छु । खेल मलाई बाच्न आधार दिने क्षेत्र हो । यी दुवै क्षेत्रलाई मिलाएर अगाडि बढाउने योजनामा छु । यसले मलाई अगाडि बढ्न सहज हुनेछ ।”

नेपाली कलाकारिताको क्षेत्रमा लाग्दा उनमा जुन किसिमको हौसला, जोस जाँगर छ । साथसाथै कलाकारिता क्षेत्रमा देखिएको विकृतिले उनलाई कहि कतै नमिठो पनि लाग्छ । परियार भन्छन्–“नेपाली कलाकारिता क्षेत्रमा देखिएको विकृतिका कारण हामी जस्ता संघर्षशील कलाकारहरु पछि परेका छौ ।” पैसाकै भरमा गायक, मोडेल हुने परम्पराका ह्वातै विकास भएको छ ।

जसका कारण कला र गलाको मूल्य घटेको धारणा छ परियारको । यस प्रकारका विकृतिका कारण नेपाली साँगितिक क्षेत्र धरासायी बन्दै गएको बताउँछन् परियार ।  कला र खेल क्षेत्र मार्फत देशका लागि केही गर्ने योजना बनाएका परियार जीवनमा निरन्तर संघर्ष गर्ने हो भने सफलताले आफै पछ्याउने धारणा राख्छन् । संघर्षलाई जीवनको पर्यायको रुपमा लिन्छन् उनी । परियारको कलाकारिता र खेल क्षेत्रमा अझै प्रगति होस् । सफल कलाकार र सफल प्रशिक्षकको रुपमा स्थापित हुन सफल होउन हाम्रो शुभकामना ।