अपडेटः बेगखोलामा डाईभर्सन निर्माण भएपछि बेनी जोमसोम सडकमा सिधा सवारी सुचारु

  • ५ श्रावण २०७४, बिहीबार
  • 4729 पटक पढिएको

म्याग्दी ५ साउन ।म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि अबरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा यातायात सुचारु भएको छ । बुधवार राती आएको बाढीले बेगखोलामा बनाईएको अस्थायी पुल भत्काएपछि बेनी –जोमसोक सडकमा सिधा सवारी अबरुद्ध बनेको थियो ।

बाढीले अस्थायी पुल बगाएपछि खोलामा डाइभर्सन निर्माण गरि अस्थायी रुपमा सवारी साधन वारपार हुने व्यवस्था मिलाईएको बेनी–जोमसोम–कोरला सडक आयोजनका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताउनुभयो । गत बर्ष आएको बाढीले बेगखोलामा रहेको बेलिब्रिज बगाएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको थियो ।

सर्वसाधारण तथा यात्रुहरु पैदल मार्फत वार गर्नका लागि साँघु बनाईएको र सवारी साधनलाई खोलाबाटै वारपार गर्ने गरि अस्थायी रुपमा अबरुद्ध सडक सुचारु भएको शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार, खोलामा पुनः बाढी आएमा सवारी साधन वारपार गर्न सक्ने अबस्था छैन् । आयोजनाका ईन्जिनियरहरुको टोलि सडकको स्थलगत निरिक्षणमा आएपछि बेगखोलामा सवारी वारपारको लागि थप पूर्वाधार निर्माण गरिने जनाईएको छ ।

यसैबीच पहिरोको जोखिमका कारण आजदेखि बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । भदौ १५ गतेसम्म बेनी नगरपालीका ९ गलेश्वर देखि अन्नपूर्ण गाउँपालीका ३ दाना खण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तस्बिरः अमर बानियाँ