बेनीमा सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता आयोजना हुने

  • २ श्रावण २०७४, सोमबार
  • 3607 पटक पढिएको

म्याग्दी, २ साउन । म्याग्दी सदरमुकाम बेनीमा आगामी असोज १ गतेदेखि ५ गतेसम्म तेस्रो बौद्ध कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । बौद्ध युवा क्लब मंगलाघाटले बिजया दशमीको अबसरमा धौलागिरीमै सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको छ । बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने क्लबका उपाध्यक्ष तथा खेल संयोजक कृष्ण श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार, प्रतियोगितामा उपबिजेता हुने टिमलाई नगद रु ७० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ भने सेमिफाईनलबाट बाहिरिने टिमलाई नगद रु १५ हजार र अनुशासित टिमलाई नगद रु १० हजार सहित ट्रफि र प्रमाणपत्रद्धारा सम्मान गरिनेछ । त्यसैगरि सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, मिडफिल्डर, डिफेन्डरलाई समेत जनही रु ६ हजार सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनको लागि रु ३० लाख २२ हजार आम्दानी र रु २५ लाख ६५ हजार खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष बिजय किसानले बताउनुभयो । ‘‘ धौालागिरीकै सर्वाधिक पुरस्कार राशीको खुला फुटबल आयोजना गर्दै छौँ, यो प्रतियोगिताले स्थानीय खेलाडीहरुको खेल पहिचान र क्षमता विकासमा सहयोग पु¥याउनेछ, खर्च लाखौँ हुने भएकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौँ,’’– क्लब अध्यक्ष किसानले भन्नुभयो ।

प्रतियोगिता सञ्चालनमा ठुलो धनराशी खर्च हुने भएकाले जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था र सहयोगदाता संगै प्रवासमा रहेका जिल्लाबासीहरुलाई समेत सहयोगको लागि क्वलले आग्रह गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्लबका सल्लाहकार सुवास कुमार श्रेष्ठले प्रतियोगिताले खेलाडीहरुको खेल क्षमताको पहिचान गर्न सहयोग पुग्ने बताउँदै प्रतियोगितालाई सफल गराउन आबश्यक पुर्वतयारीमा जुट्न सुझाब दिनुभयो । क्लब अध्यक्ष किसानको अध्यक्षता, उपाध्यक्ष श्रेष्ठको स्वागत र सल्लाहकार सचिन शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।