स्थानीय निकायका कर्मचारी आन्दोलनमा

  • २६ माघ २०७३, बुधबार
  • 1677 पटक पढिएको

IMG_2163

बेनी, २५ माघ । म्याग्दीमा रहेका स्थानीय निकायका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका दशेभरका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।

नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका कर्मचारीले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जिविस, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाविसमा कार्यरत स्थायी, अस्थायी र करार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरिनु पर्ने, स्थानीय निकाय कर्मचारी सङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण आचार्यले बताउनुभयो ।

सङ्घका केन्द्रिय सदस्य राजेन्द्र आचार्यले कर्मचारी व्यवस्थापन गर्दा ज्येष्ठता, योग्यता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा श्रेणी मिलान गरिनु पर्ने, समायोजनमा जान नचाहने कर्मचारीलाई विशेष सुविधा दिई अवकाशको सुविधा दिनुपर्ने, स्थानीय तहका दरबन्दीलाई प्रदेशस्तरमा एकीकृत गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवाको व्यवस्था गरिनु पर्ने माग अघि सारिएको बताउनुभयो ।

आन्दोलनमा स्थानीय कर्मचारी सङ्घ, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन बेनी नगरपालीका र गाविस कर्मचारी संघले एक्यबद्धता जनाएका छन् । उनीहरुले आफ्नो मागका बारेमा मंगलबार स्थानीय विकास अधिकारी, राजनितिक दलका प्रमुख एंव प्रतिनिधि र पेशागत संगठनका प्रमुखहरुसंग अन्तरक्रिया गरेका छन् । स्थानीय निकायका कर्मचारीहरुले बिरोध जनाउँदै हातमा कालोपट्टी बाँधेर काम गरिहेका छन् ।