बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

  • ८ असार २०७४, बिहीबार
  • 2289 पटक पढिएको

म्याग्दी, ८ असार । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । आफ्नो व्यवसायको एक दशक पुरा भएको अबसरमा व्युटी पार्लर व्यवसायी प्रमिला श्रेष्ठले बालगृहका बालबालिकाहरुलाई सहयोग गर्नुभएको हो । पिस साईन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालीका प्रमिला श्रेष्ठले विहिवार बालगृहमा रहेका १० जना बालबालिकाहरुलाई १० हजार बराबरको कापि, कलम, छाता सहित नगद रु ५ हजार सहयोग गर्नुभएको हो ।


म्याग्दी बालसंगठनका अध्यक्ष नेत्रबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगदाता प्रमिला श्रेष्ठ र उहाँका श्रीमान सुमन श्रेष्ठले बालबालिकाहरुलाई संयुक्त रुपमा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।सहयोग हस्तान्तरण गर्दै सहयोगदाता प्रमिला श्रेष्ठले अनाथ बालबालिकाहरुको अध्ययनमा सहजता मिलोस भन्ने उदेश्यले आफ्नो व्यवसायको एक दशक पुरा भएको अबसरमा सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा बालगृहका अध्यक्ष महतले विभिन्न अबसरहरुमा सहयोगदाताहरुबाट बालबालिकाहरुको सहयोगार्थ प्राप्त हुने सहयोगले उनीहरुको पठनपाठनसंगै दैनिकीमा सहज मिलेको बताउनुभयो । उहाँले बालगृहको भौतिक पूर्वाधार कमजोर बन्दै गएकाले बालसंगठनले बालगृहको क्षमता विस्तारको योजना बनाएको जानकारी दिनुभयो ।