मोना कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड तथा सहयोग संकलन

  • ५ असार २०७४, सोमबार
  • गोविन्द बानियाँ
  • 3149 पटक पढिएको

कोरिया, ५ असार । म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाले खेलकुद व्यवस्थापनका निम्ति जिम्मेवारी बाँडफाँड गर्दै बिशेष तयारी गरेको छ । कोरियामा हरेक बर्ष संचालन हुँदै आएका भलिबल प्रतियोगिताहरुमा सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रस्तुत गर्ने ध्येयका साथ खेलकुद व्यवस्थापन गर्न खेलकुद संयोजक, टिम कोच, टिम क्याप्टेन लगायत जिम्मेवारी बाँडफाँड गरिएको हो ।

आइतवार सउलमा मोना कोरिया संरक्षक भरत तुलाचन, मोना कोरिया अध्यक्ष आलोक बानियाँ, उपाध्यक्ष किसान विश्वकर्मा, सचिव सुनेश केसी लगायत पदाधिकारी सदस्य र म्याग्देली खेलाडीहरुको सहभागितामा भएको एक भेलाले खेल संयोजकमा मोना कोरिया कार्यसमिती सदस्य गोविन्द बानियाँलाइ खेलकुद संयोजक, उपाध्यक्ष किसान विश्वकर्मा र कार्यसमिती सदस्य मिन ब कार्कीलाइ टिम कोच, र मोना कोरियाका प्रतिष्ठित खेलाडी शिव आचार्यलाइ टिम क्याप्टेनको जिम्मेवारी तोकिएको अध्यक्ष आलोक बानियाँले जानकारी दिनुभएको छ । 

सो भेलाले यसअघि मोना कोरिया र बेनी म्याग्दी गरी म्याग्दीका दुइ टिमले सहभागिता जनाउने गरेकोमा अब मोना कोरियाकै नाममा दुइ टिम रहने र सबै खेलाडीलाइ समेट्ने निर्णय पनि गरेको छ । यो निर्णय संगै कोरियामा हुने यो बर्षका बाँकी तिन खेलहरुमा मोना कोरियाले आफ्नो दबदबा जमाउने अनुमान गरिएको संरक्षक भरत तुलाचनले बताउनुभएको छ ।

छन्त्याल परिवारको आयोजनामा जुलाइ १६ मा हुने खेलमा दुइ टिम सहभागिता गराउने तयारी गरेको मोना कोरियाले सम्पुर्ण म्याग्देलीहरुलाइ सो दिन खेल अवलोकन गर्न उपस्थित भै खेलाडीहरुको हौसला बढाउन समेत आह्वान गरेको छ । साथै सोही क्रममा मोना कोरियाले स्याङ्जा परिवारद्वारा आयोजित खेलकुद कार्यक्रममा कोरियामा हालै असामयिक निधन भएका म्याग्दी राखुका शिव कुमार कार्कीको शव नेपाल पठाउन आवश्यक सहयोग समेत संकलन गरेको छ ।

सार्वजनिक आह्वान गरि खटिएको सहयोग संकलन टोलिले ८,८६,००० वन रकम जम्मा गर्नुका साथै आइतवार नै चालिस लाख वन संकलन भएको, मोना कोरियाद्वारा गठित सहयोग संकलन उपसमितिका संयोजक यु मल्लले बताउनु भयो । गत बिहिबार किम्फोस्थित कम्पनीमा सुतेकै अवस्थामा मृत्यु भएका कार्कीको शव किम्पोकै एक अस्पतालमा रहेको छ । नौ महिना अगाडी कोरिया आएको कार्कीको निधनले समग्र जिल्ला नै शोकमा डुबेको बेला यो दुखको घडिमा सबैले हातेमालो गर्न समेत मोना कोरियाले अपिल गरेको छ ।

गोविन्द बानियाँ