लिटल गार्डेनद्धारा एसइई उर्तिण विद्यार्थीलाई सम्मान

  • ५ असार २०७४, सोमबार
  • 2670 पटक पढिएको

म्याग्दी, ५ असार । बेनी स्थित लिटल गोर्डेन एकेडेमिले एसइई परिक्षा २०७३ मा विद्यालयबाट उर्तिण हुने विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयले माध्यमिक शिक्षा परिक्षामा उर्तिण भई विद्यालयबाट विदा भएर जान लागेका विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सम्मान गरेको हो ।

गत शुक्रवार सार्वजनिक भएको परिक्षामा विद्यालयबाट माध्यमिक शिक्षा परिक्षामा सम्मिलित १८ जना विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ग्रेडमा ६ जना र ‘ए’ ग्रेडमा १२ जना विद्यार्थीहरु उर्तिण हुन सफल भएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, अभिभावक संघका अध्यक्ष यामबहादुर बानियाँ, प्रिन्सिपल प्रशान्तराज खनाल लगायतले खादा र अबिर लगाएर सम्मान गर्नुभएको थियो ।

विद्यार्थीहरुलाई सम्मान गर्दै संस्थापक निर्देशक सुवेदीले विद्यालयको नतिजा सन्तोषजनक रहेको बताउँदै उर्तिण विद्यार्थी र उनका अभिभावकहरुलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले मावि तहको पठाई पुरा गरेका विद्यार्थीहरुले आफ्ना आफन्त, अभिभावक तथा विद्यालयका शिक्षकहरुको समेत सल्लाहमा आगामी शैक्षिक गन्तव्य तयार गर्नुपर्ने बताउँदै विद्यालयको शैक्षिक गुणस्तर अझै बढाउन संचालक समितिले आबश्यक तयारीका लागि गृहकार्य गरीरहेको बताउनुभयो ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष बानियाँ, अभिभावक भोलानाथ घिमिरे, एसइई उर्तिण छात्रा अनिशा सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो भने विद्यालयका शिक्षकहरुलाई समेत सम्मान गरिएको कार्यक्रमको विद्यालयका प्रिन्सिपल प्रशान्तराज खनालले सञ्चालन गर्नुभएको थियो । २०६१ सालमा बेनी स्थित गणेशटोलमा स्थापना भएको यस विद्यालयले यस पटकगरि तीन पटक माध्यमिक शिक्षा परिक्षामा सम्मिलित भएको छ ।