किसानका लागि आएको अनुदान कहाँ जान्छ ?

  • ४ असार २०७४, आईतवार
  • 1879 पटक पढिएको

म्याग्दी, ४ असार । म्याग्दीमा भूकम्प प्रभावित किसानहरुलाई कृषि औजार तथा सामाग्री खरिदमा वितरण गरिने अनुदान रकममा अनियमितता भएको खुलासा भएको छ । चालु आर्थिक वर्ष २०७३÷०७४ को राष्ट्रिय पुननिर्माण कोषबाट भूकम्प प्रभावित कृषकहरुलाई कृषि औजार तथा सामाग्रीमा खरिदमा जिल्ला कृषि विकास कार्यालय म्याग्दी मार्फत उपलब्ध गराउने अनुदान रकममा अनियमितता भएको भेटीएको हो । कृषि औजार तथा सामाग्री खरिदमा यो वर्ष विभिन्न ७ शिर्षकमा ३२ लाख ९० हजार रुपियाँ कृषि कार्यालयलाई प्राप्त भएको छ ।


कार्यक्रम मध्य सिँचाई प्रविधिका लागि ड्रिप इरिगेशन ग्रेविटि विथ टैंक (थोपा सिँचाई) जिल्लाका १० जना कृषकहरुलाई जनही ३२ हजार सात सय ५० वरावरको कृषि सामाग्री वितरण गर्ने कार्यक्रममा आफूहरु ठगिएको किसानहरुले बताएका हुन । उनीहरुले कमशल र कम सामाग्री आफूहरुलाई कृषि कार्यालयले थमाएको गुनासो गरेका छन् । उक्त रकम वरावरको सामाग्री उपलब्ध गराउनुपर्नेमा कृषि कार्यालयका कर्मचारीहरुले आर्थिक अनियमितता गरि आफूहरुलाई ठगेको नाम नछाप्ने सर्तमा एक किसानले बताउनुभयो । ३२ हजार ७ सय पचासको सामाग्री भन्दै लाजमर्दो भएको उहाँले बताउनुभयो ।


कुल रकमको १० प्रतिशतका दरले किसानले तिन हजार दुइसय ७५ रुपियाँ गरि कुल ३२ हजार ७ सय पचास वरावरको सामाग्री पाउनुपर्नेमा जम्मा १० हजार रुपियाँ वरावरको सामाग्री पनि नपाएको मंगला गाउँपालिका ३ वरंजाका प्रेम गिरिले बताउनुभयो । पाएको सामाग्री पनि अत्यन्तै कमशल गुणस्तरको भएको उहाँले गुनासो गर्नुभयो । “हामीलाई ३२ हजार ७ सय ५० रुपियाँको सामाग्री बुझेको भरपाई गराइयो, गिरिले भन्नुभयो सामाग्री १० हजार बरावरको पनि छैन ।” पहिला सामाग्री बुझेको भरपाई गराइयो सामाग्री बुझ्दा १० हजार वरावरको पनि नभएपछि आफू दङग परेको गिरिले बताउनुभयो । यो कृषि कार्यालयको ब्रहमालुट नै हो उहाँले भन्नुभयो । उक्त सामाग्री कृषि कार्यालयलाई नै फिर्ता दिने सोचाई बनाएको विकल्प न्यूज सँग गिरिले बताउनुभयो ।


५०० लिटरको प्लास्टीकको पानी टैंकी, २५ एमएमको ५० मिटर पाइप, एकरोल थोपा सिँचाईका लागि प्रयोग हुने मसिनो पाइप र केही फिटिङका सामाग्रीहरु किसानहरुलाई उपलब्ध गराइएको कृषि कार्यालयका नायब प्राविधिक साहयक भुपेन्द्र योगीले बताउनुभयो । उक्त सामाग्रीहरु यहाँ खरिद नभएको र काठमाण्डौबाट आएको हुनाले के कति मूल्य पर्ने आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । विभिन्न शिर्षकहरुमा वितरण गरिने अनुदान कार्यक्रमका वारेमा जिल्ला रहेको कृषि समितिको निर्णय अनुसार कृषकहरुलाई सामाग्री वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाले बताउनुभयो । थोपा सिँचाईका लागि कृषकहरुले ल्याएको लगत स्टिमेटका आधारमा कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो । कार्यालयलाई प्राप्त भएको बजेट अनुसार नै कृषकहरुलाई सामाग्री उपलब्ध गराइएको उहाँले दावी गर्नुभयो ।

उक्त सामाग्रीहरुको वारेमा हामीले बेनीका केही होलसेल हार्डवयर पसलेहरुलाई बुझ्दा पाँचसय लिटरको पानी टैंकीको (प्लास्टीक ड्रम) ५ हजार देखि ५६ सय रुपियाँ पर्ने,२५ एमएमको ५० मिटरको पाइप अधिकतम मूल्यमा २ हजार,मसिनो थोपा सिँचाईमा प्रयोग हुने पाइप एकरोलको अधिकतम मूल्य २ हजार र केहि फिटिङ सामाग्रीको एकहजार गरि जम्मा मूल्य दश हजार पाँचसय वरावर पर्ने होलसेल पसलेहरुले बताए । किसानलाई ३२ हजार ७ सय ७५ रुपियाँको सामाग्री बुझेको नक्कली भरपाई खडा गरि आर्थिक अनियमितता गरेको यसबाटै प्रष्ट देखिन्छ । १० हजारको सामाग्री कृषकहरुको हातमा थमाएर बाँकी २२ हजार रुपियाँ कसको खल्तीमा पुग्यो ? सम्बन्धित निकायले यसको खोजविन गरोस् । साभारः बिकल्पन्युज अनलाईनबाट