दग्नाम भुमेपुजा मेलाको आयव्यय सार्वजनिक

  • १ असार २०७४, बिहीबार
  • 8385 पटक पढिएको

म्याग्दी, १ असार । रघुगंगा गाउँपालिका–४ मा रहेको एकता युवा क्लब दग्नामले भुमे पुजा मेला २०७४ को आयव्यय सार्वजनिक गरेको छ । यहि जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको मेलामा खेलकुद प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । मेलाअवधीभर ६ लाख ९ हजार ९५ रुपैयाँ आम्दानी र ४ लाख ९३ हजार ९० रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष गुन पुन गुञ्जनले जानकारी दिए । ‘मेलाबाट क्लबलाई १लाख १६ हजार ५ रुपैयाँ खुद आम्दानी भएको छ ।  

यो रकम क्लबको खेलमैदान र कभर्डहल निर्माणमा खर्च गर्नेछौँ” अध्यक्ष पुनले भने । क्लबले यसैबर्षदेखि सुविधासम्पन्न खेलमैदान र कर्भडहल निर्माणको योजना अघि सारेको छ । मेलामा खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष बास्केटबलतर्फ २७ टिमलाई पछि पार्दै दिपशिखा युवा क्लब दरमिजा प्रथम र मण्डली युवा क्लब चिमखोला द्धितिय भएको छ ।

विजेता÷उपविजेतालाई ३५ र २० हजार रुपैयाँ नगदका साथमा प्रमाणपत्र र मेडल प्रदान गरियो । महिला भलिबलतर्फ ७ समूहमा मण्डली युवा क्लब प्रथम र युथ युनाईटड क्लब दाना द्धितिय भए ।

१७ टिम सहभागि पुरुष भलिबल प्रतियोगितामा काउलेगौडा युवा क्लब घतान प्रथम र बरंजा युवा क्लब बरंजा द्धितिय भएको आयोजकले जनाएको छ । महिला भलिबलमा विजयी टिमहरुलाई क्रमशः १५ र १० हजार रुपैयाँ र पुरुष भलिबलमा विजेता÷उपविजेता टिमलाई ३५ र २० हजार रुपैयाँ नगदको साथमा प्रमाणपत्र र मेडल प्रदान गरिएको क्लबका खेलकुद अध्यक्ष मनोज गर्बुजाले जानकारी दिए ।

मेलाको अवसरमा सञ्चालन गरिएको आंगन कार्यक्रममा सृष्टिना गर्बुजा प्रथम भइन् । उनले नगद ३५ सय रुपैयाँ पुरस्कार जितिन् । क्लबको विशेष प्रस्तुती दग्नाम साँझमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु मिना गर्बुजा, लाली बुढाथोकी, मायाँ गुरुङ र तारा श्रीषमगर लगायतले बेजोड साँगेतिक प्रस्तुती पस्केकी थिइन् । मेलाको पहिलो दिन भुमे पुजाको अवसरमा दग्नामको दुई गाउँ बीच लिँगो जुधाउने परम्पराले यसबर्षपनि निरन्तरता पाएको थियो ।