बेनीका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण

  • ३१ जेष्ठ २०७४, बुधबार
  • सन्तोष गौतम
  • 2422 पटक पढिएको

बेनी, ३१ जेठ । बेनी नगरपालीका क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई बुधबार सहयोगी सामाग्री वितरण गरिएको छ ।बेनी नगरपालीका कार्यालयको सहयोग र अपाङ्ग संघ म्याग्दीको समन्वयमा नगर अपाङ्ग समन्वय समितिले ४० जनालाई ७५ हजार रुपैया बराबरको सहयोगी सामाग्री वितरण गरिएको हो ।

अपाङ्ग संघ म्याग्दीको आयोजनामा सञ्चालीत अपाङ्गता भएका बालबालीकाको खेलकुद प्रतियोगिता समापनका अवसरमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सामाग्री वितरण गर्नुभएको थियो ।

२५ जनालाई लठ्ठी, ४ जनालाई बैशाखी, एक जनालाई ट्वाईलेट चियर, २ जनालाई डोम लेन्स, २ जनालाई ईल्वीयु, २ जनालाई श्रवण यन्त्र र ४ जनालाई सेतो छडी वितरण गरिएको समितिले जनाएको छ ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता, सचिव सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रमका अवसरमा पलान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा मंगलबारदेखि सुरु भएको खेलकुद प्रतियोगितामा बिजेता र सहभागी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

अपाङ्गता भएका बालबालिकाको प्रतिभा पहिचान, अवसर र हौसला प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा धौलागिरी मावि, ज्ञानोदय मावि, बालजागृती आधारभुत विद्यालयमा सञ्चालित स्रोत कक्षाका बालबालिकाहरु, बागलुङको धौलागिरी आवासीय बहिरा विद्यालय र पोखराको अमरसिङ माविका विद्यार्थीहरु सहभागी भएका थिए । फुटबल, क्रिकेट लगायतका खेलकुद भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रका रेग्मी, महिला तथा बालबालिका कार्यालयका भुवन मल्ल, वौद्धीक अपाङ्गता अभिभावक संघका अध्यक्ष यामबहादुर बानिया, अपाङ्ग संघ म्याग्दीका कोषाध्यक्ष गोरी दर्जी र बालजागृती आधारभुत विद्यालयका प्रअ भक्त कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सन्तोष गौतम