बेनीमा पहिलोपटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता (फोटो फिचर)

  • ३० जेष्ठ २०७४, मंगलवार
  • 3618 पटक पढिएको

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनीमा मंगलवार दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपांग संघले अपांगता भएका बालबालिकाहरुको लागि आयोजित खेलकुद प्रतियोगितामा जिल्लामै पहिलो पटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगितालाई समावेश गरेके हो ।


मैत्रिपूर्ण तवरले सञ्चालन गरिएको प्रतियोगितामा नेत्रहिन क्रिकेट क्लब कास्की बिजयी भएको छ । अमरसिंह माविमा रहेका दृष्टिविहिन विद्यार्थी सहभागि नेत्रहिन क्रिकेट क्लबले म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको समुहलाई पराजीत गरेको थियो ।
२० ओभरमा खेलाईएको प्रतियोगितामा टस जितेर व्याटीङ गरेको कास्कीले १ सय ८३ रनको लक्ष्य दिएको थियो । जबाफि व्याटीङमा उत्रिएको म्याग्दीका दृष्टिविहिनहरुको टोलि जम्मा ९२ रनमा समेटीएपछि कास्कीको टोलि विजयी भएको हो ।
त्यस्तै सोही क्रममा आयोजना गरिएको बहिराहरुबिचको फुटवलमा बागलुङ बिजयी भएको छ । धौलागिरी बहिरा आवासीय मावि बागलुङले बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरी मावि बहिरा स्रोत कक्षाका विद्यार्थीहरु सम्मिलित म्याग्दीको टिमलाई ३ का विरुद्ध ६ गोल गर्दै बिजयी भएको थियो ।


क्रिकेटमा बिजयी कास्कीको दृष्टिविहिनहरुको टोलिलाई नगद रु ४ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र फुटवलमा बिजयी बागलुङको बहिरा विद्यार्थीहरुको समुहलाई नगद रु ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अपांग स.घ म्याग्दीका अध्यक्ष गोपाल केसीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगिताको म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले व्याटीङ र जिल्ला शिक्षा अधिकारी रामप्रसाद श्रेष्ठले बलिङ गरि उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रजिअ शर्माले प्रतियोगिताले अपांगता भएका बालबालिकामा रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । अपांग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता, उपाध्यक्ष गणेश सुवेदीको स्वागत र सचिब सुरेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अबसरमा धौलागिरी माविमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीहरुबिच विविध खेलकुद समेत सम्पन्न गरिएको छ भने बुधवार समेत अपांगता भएका बालबालिकाको खेलकुद सहित सहयोगी सामाग्री बितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।