जब सडक मर्मतमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुननै श्रमदानमा कस्सिए

  • २९ जेष्ठ २०७४, सोमबार
  • 12410 पटक पढिएको

म्याग्दी, २९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा बेनी जोमसोम सडकखण्डमा बिग्रीएको सडक मर्मतमा गाउँपालिका प्रमुख क्याप्टेन डमबहादुर पनले आफै श्रमदान गर्नुभएको छ । घारको धिरच्याङमा सडकमा परेको खाल्डोको तलाउ पुरेर यातायातलाई सहज बनाउने कार्यमा गाउँपालिका प्रमुख क्याप्टेन पुन नेतृत्वको टोलिले श्रमदान गरेको हो ।

टोलिले नजीकैको खोल्साबाट सडकमा बग्ने पानीलाई सडकमा जम्मा भएर तलाउ बन्नबाट जोगाउन सडकको खाल्डोमा ढुंगामाटोले पुरेर सडकको स्तरोन्तती गरेको थियो । वडा नम्बर ६ का अध्यक्ष कृष्णप्रसाद बरुवाल लगायत स्थानीयबासीहरुले समेत सो सडक मर्मत योजनाको श्रमदानमा सहभागिता जनाएका थिए ।

सडकको मर्मतपछि सडकमा आउने पानी खाल्डोमा जम्मा नभईकन बगेर जाने निकास भएको छ । यो स्थानमा बर्खायाममा तलाउ बन्ने समस्याले म्याग्दीको उत्तरी भेगका जनताको साथै बेनी हुँदै मुस्ताङ ओहोरदोहोर गर्ने सवारी चालकहरु समस्यामा परेका थिए ।

सडकमै करिब ७५ मिटर लामो तलाउ बन्ने समस्याले कतिपय मोटरसाईकल, स्कुटर, ट्याक्सी लगायतका सवारी साधन तलाउमै फस्ने र पल्टने समस्याले सर्वसाधारण र सवारी चालक समस्यामा पर्दै आएका थिए । सडकको तलाउ ढुंगामाटोले पुरेर समथर बनाएपछि सवारी साधनहरुलाई आवतजावतमा सहजता मिलेको छ ।