१४ औँ अन्तरमावि लोकनृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट विजयी

  • २१ जेष्ठ २०७४, आईतवार
  • 2531 पटक पढिएको

म्याग्दी, २१ जेठ । म्याग्दी जेसिजद्धारा आयोजित १४ औँ अन्तर मावि लोकनृत्य प्रतियोगितामा बेनी स्थित माउण्ट एभरेष्ट बिजयी भएको छ । बेनी स्थित रुचि चलचित्र हलमा सम्पन्न प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि प्रथम, बेनी आवासीय मावि द्धितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि तृतीय र लिटल गार्डेन एकेडेमिका कलाकारहरु सान्त्वना हुन सफल भएका थिए ।

त्यस्तै प्रतियोगितामा सहभागि कलाकारहरु मध्ये प्रमाश माविकी सिमा विक उत्कृष्ट हुन सफल भएकी थिइन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ६ हजार ५ सयको साथमा रनिङ शिल्ड र प्रमाणपत्र तथा द्धितीय हुनेलाई नगद रु ४ हजार ५ सयको साथमा टफ्रि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

त्यसैगरि तृतीय हुनेलाई नगद रु ३ हजार ५ सय र सान्त्वना तथा उत्कृष्ट हुनेलाई १ हजार ५० को साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा बिजयी कलाकारहरुलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि जिल्ला न्यायाधीस रामप्रसाद शर्माले जिल्लाको सामाजिक क्षेत्रमा जेसीजले गरेका कार्यहरुप्रति आफु जानकार हुन पाउँदा खुसी लागेको भन्दै प्रतियोगिताले लोकसंस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।


कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मा, लोकदोहोरी प्रतिष्ठान धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटा र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठले म्याग्दीमा जेसिले हरेक बर्ष गर्ने जेसीज सप्ताहमा समावेश हुने कार्यहरुले यहाँको सामाजिक क्षेत्रमा ठुलो सहयोग पुगेको धारण राख्नुभयो ।

कार्यक्रममा लेखनाथ जेसीजको अध्यक्ष सुदिप ढुंगाना, पोखरा जेसीजका शाखा अध्यक्ष शिबप्रसाद कोईराला, बागलुङ जेसीजका अध्यक्ष जोन बज्राचार्य, पर्वत जेसीजका अध्यक्ष असोक गुरुङ, नेपाली काँग्रेस म्याग्दीका सचिब मिनबहादुर कार्की, म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तह निर्वाचनमा म्याग्दीका ६ स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने जेसीज सप्ताहका मुल संयोजक बद्री पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन भुपेन बानीयाँ , खम थापा र शुसिल थकालीले गर्नुभएको थियो ।