भण्डारीले पुरा गरे बेगखोला, चिमखोल र कुईनेमंगलेका मतदातासंग गरेको चुनाबी प्रतिबद्धता

  • २१ जेष्ठ २०७४, आईतवार
  • गोपाल छन्त्याल
  • 23259 पटक पढिएको

म्याग्दी, २१ जेठ । रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले चुनाब अघि मतदातासँग गरेका प्रतिबद्धता पुरा गरेका छन् । आफुलाई निर्वाचित गराए सडक स्तरोन्नति गर्न वेगखोला, चिमखोला र कुईनेमँगलेका मतदातासँग गरेका प्रतिबद्धता उनले पुरा गरेका हुन् । रघुगंगा १ वेगखोलामा सिमफाँट देखि बाहुनडाँडासम्मको सडक, चिमखोला देखि कुईनेमँगलेस्थित रितुङ मावि सम्मको सडकको स्तरोन्नति गरिएको भण्डारीले जानकारी दिए ।

बेनी, भगवति, बेगखोला, चिमखोला हुदै कुइनेमँगले पुग्ने सडक गत बर्षायामदेखि नै विभिन्न स्थानमा पहिरो झरेका कारण अवरुद्ध थियो । सडकमा झरेको पहिरो हटाउनुका साथै कटिङ गरि ट्रयाक्टर सञ्चालनका लागि सहज बनाईएको छ । सडक फराकिलो र मर्मतसम्भार गरेपछि अहिले बेनीबाट सिधै कुईनेमँगलेसम्म ट्रयाक्टरहरु छुट्न थालेका छन् । भण्डारीले चिमखोलास्थित गौडामुनी र ध्यासीखर्कस्थित युवा क्लबको खेलमैदान समेत मर्मत गरिदिएका छन् । ‘मैले यी कामहरु निर्वाचित हुने वित्तिमै आफ्नै लगानीमा गरेँ, करिब ७ लाख रुपैयाँ जति खर्च भयो होला’, उनले भने, ‘अन्य प्रतिबद्धताहरु पनि पुरा गर्दै जानेछु ।’ भण्डारीले राखुपिप्ले, भगवति र बेगखोला तथा पाखापानी, झिँ र कुइनेखानीका जनता सबैलाई सहज हुने गरि सरकारी सुविधा प्रबाह गर्ने गृहकार्य भईरहेको बताए ।

‘दुबै क्षेत्रका जनतालाई कसरी घरदैलोमै सरकारी सुविधा दिने भन्ने बारेमा केहि समयभित्रै ठोस निर्णयमा पुग्छौँ’, उनले भने । गाउँपालिका प्रमुख भण्डारीले भगवति, पिप्ले, दग्नाम, चिमखोला र कुईनेमँगलेमा सहज सडक, भगवति, पिप्ले र वेगखोलामा सर्वसुलभ खानेपानी र रघुगंगाको दुबै क्षेत्रलाई एकै ठाउँमा जोड्ने कामलाई प्राथामिकता दिएका छन् । ‘झिँ, पाखापानी, कुइनेखानीलाई दग्नाम र पिप्ले क्षेत्रसँग जोड्न दरमिजा–पाखापानीमा नेपालकै अग्लो झोलुङ्गे पुल निर्माणको योजनालाई पहिलो प्राथामिकता दिएका छौँ’, भण्डारीले थपे, ‘राखु क्षेत्रमा खानेपानीको समस्या टार्न रघुगंगाबाट मोटर प्रणालीबाट पानी तान्ने योजनाको अध्ययन गर्ने सोचमा छु ।’

गोपाल छन्त्याल

म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l