चिप्लीएर लड्दा बन्दुकको गोलीले शिकारीको ज्यान गयो

  • १४ जेष्ठ २०७४, आईतवार
  • 7116 पटक पढिएको

म्याग्दी, १४ जेठ । अन्नपूर्ण गाउँपालीका ७ महभिरमा बन्दुकको गोली लागेर एक शिकारीको ज्यान गएको छ । हिस्तानको डाँकावन जंगल क्षेत्रमा शनिबार राती शिकार खेल्न गएका मालीका गाउँपालीका २ रुमका ३४ वर्षिय हिरालाल पुनको आफैले बोकेको बन्दुकको गोलीले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार महभिर स्थित ससुरालीमा बस्दै आएका पुन ढुङ्गामा चिप्लीएर लडेपछी आफैले बोकेको भरुवा बन्दुक पड्कीदाँ गोली लागेर घाइते भएका थिए । बाँया साप्रा गोलीले पुरै छेरेको र छर्राले दायाँ साप्रामा समेत चोट लागेका उनलाई घरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानका लागि पुनसंगै शिकार खेल्न गएका अन्नपूर्ण गाउँपालीका ७ महभिरका २० वर्षिय विवेक शेरपुञ्जा र अन्नपूर्ण १ दोवाका ३४ वर्षिय खुमबहादुर पुर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।