दाना गाउँमा मोबाइल टावर सञ्चालन

  • ७ जेष्ठ २०७४, आईतवार
  • 2912 पटक पढिएको

म्याग्दी, ७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आजदेखि सेवा विस्तार गरेको छ । दाना गाउँको डाँडामा राखिएको सो टावर सञ्चालनमा आएपछि दाना, नारच्याङ, भुरुङ तातोपानी क्षेत्रमा टेलिकमको सेवा विस्तार भएको हो ।

यसअघि मोबाइल टावर नहुँदा दाना र आसपासका क्षेत्रका मोबाइल फोन प्रयोगकर्तालाई सञ्चार सुविधा उपभोग गर्न समस्या भएको थियो । स्थानीय बासिन्दाका साथै बेनी–जोमसोम सडकमा यात्रा गर्ने पर्यटक तथा यात्रुलाई लक्षित गरेर टावर सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दी शाखा प्रमुख विष्णुदेव शाहले बताउनुभयो ।
टावर सञ्चालन भएपछि टेलिकमले दानामा आजदेखि दुई दिनसम्म निःशुल्क मोबाइल सिमकार्ड वितरण गरेको छ । यसअघि ताकममा मोबाइल टावर स्थापना गरेको टेलिकमले छिट्टै रघुगङ्गा गाउँपालिकाको पाखापानी र मङ्गला गाउँपालिकाको अर्मनमा समेत मोबाइल टावर सञ्चालन गर्ने तयारी गरेको छ । पन्ध्रवटा टावरबाट ‘थ्रिजी’ सेवा सञ्चालन गरेको टेलिकमले यसवर्ष म्याग्दीमा सातवटा नयाँ मोबाइल टावर स्थापना गरेर सेवा विस्तार गर्न लागेको शाखा प्रमुख शाहले बताउनुभयो ।