म्याग्दीमा बिदेशबाट आएकाहरुमध्ये पहिलो दिन १९ जना क्वारेनटाइनमा

अटेर गरेकाहरुलाई फोर्स क्वारेनटाइन राख्ने तयारी

  • १५ चैत्र २०७६, शनिबार
  • 1960 पटक पढिएको

कमल खत्री
म्याग्दी, १५ चैत । म्याग्दीमा चैत १ गतेदेखि यता विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति अन्र्तगत गठन भएको कमाण्ड पोष्टको निर्णय अनुसार, विश्वब्यापी महामारी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि उनीहरुलाई बेनीमा क्वारेनटाइनमा राख्न सुरु गरिएको हो । शनिवार बेनी नगरपालिकाका १६, मंगला, अन्नपूणृ र पर्वतको जलजला गाउँपालिकाका १/१ गरि १९ जनालाई बेनी स्थित न्यू वेष्ट पोइन्ट आवसीय माविमा बनाइएको क्वारेनटाइनमा राखिएको छ ।

उनीहरुलाई छुट्टाछुट्टै कोठामा बस्ने र निशुल्क खाना, खाना सहित इन्टरनेटको समेत सुविधा दिईएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । शनिवार बसेको कमाण्ड पोष्टको बैठकले अटेर गरेकाहरुलाई स्थानीय तहका सरकारसंगको समन्वयमा फोर्स क्वारेनटाइन राख्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो । कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि भारत, खाडी र युरोप लगायतका मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण गरिने र उनीहरुको रिपोर्टको आधारमा आबश्यक कदम चालिने जनाईएको छ ।

 

शंका र सन्त्रास हटाउन विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको प्रजिअ ढकालले बताउनुभयो । अहिले न्यू वेष्ट प्वाइन्टमा २३ बेड र माउण्ड एभरेष्टको हिलसाईटको भवनमा १० वेड क्षमताको क्वारेनटाइन निर्माण गरिएको छ । रघुगंगा गाउँपालिकाले सबै वडास्तरमा क्वारेनटाइन निर्माण गरेको छ भने मालिका गाउपालिकाले दरवाङको छ्यारछ्यारेमा रहेको जनप्रिय माविको भवनमा ७ शैया क्षमता र अन्नपूर्ण गाउँपालिकाले सर्वोदय माविमा ६ बेड क्षमताको क्वारेन्टाइन बनाएका छन् ।

चैत १ गतेदेखि यता विदेशबाट आएकाहरु आ–आफ्नो स्थानीय तहको समन्वयमा क्वारेनटाइनमा नबसे उनीहरुलाई आईतवारदेखि नियन्त्रणमै लिएर भएपनि क्वारेनटाइनमा राख्ने निर्णय भएको कमाण्ड पोष्टका सदस्य समेत रहनुभएका रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिनुभयो । त्यसको लागि जिल्ला स्थित सरकारी कार्यालयका सवारी साधनलाई अलर्ट अबस्थामा राख्न निर्देशन समेत दिईएको छ ।

म्याग्दीमा २०७६ चैत १ गतेदेखि बिदेशबाट आएकाहरुको वडा कार्यालयले लगत संकलन गरेका छन् । हालसालै विदेशबाट फर्किएका १०० बढीकोे लगत संकलन भएको मध्ये चैत यता मात्रै आएका ८० जना बढी रहेको अनुमान गरिएको छ । स्वास्थ्यकर्मीको निगरानीमा बेनीको क्वारेन्टाइनमा बसेकाहरुलाई बेनी नगरपालिकाले खाना खुवाउने जनाएको छ ।

क्वारेन्टाइनमा राखिएकाहरुलाई ज्वरो, रुघा, सुख्खा खोकी जस्ता कोरोनाका लक्षण देखिएमा बेनी अस्पतालको आइसोलेशनमा राखेर नमुना परिक्षण गर्न काठमाडौ पठाइने भएको छ । परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिए थप उपचारका लागि काठमाडौ र नदेखिए घर पठाइने व्यवस्था मिलाइएको छ ।