कोरोना रोकथाम गर्न बेनी नगरपालिकामा ५० लाखको कोष स्थापना

  • १४ चैत्र २०७६, शुक्रबार
  • 1286 पटक पढिएको

बेनी, १४ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको संक्रमण रोकथामको लागि म्याग्दीको बेनी नगरपालिकाले रु ५० लाखको कोष स्थापना गरेको छ । शुक्रवार बसेको नगरपालिका स्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले कोरोनाको संक्रमण रोक्न, जनचेतनामुलक कार्यक्रम सञ्चालन र आबश्यक बन्दोबस्तको लागि नगर स्तरीय दैवी प्रकोप उद्धार कोष निर्माण गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक संयोजक बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोरोना सम्बन्धी आबश्यक कार्य गर्नको लागि सो कोषको स्थापना गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकले बेनी अस्पतालमा कोरोना विशेष उपचारको लागि आबश्यक पर्ने सामाग्री खरिद र आइसोलेसन इकाईको सञ्चालनको लागि थप रु ५ लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले स्थापना गरेको कोषबाट कोरोना सम्बन्धी उपचार, जनचेतना अभिबृद्धी संगै आबश्यकता अनुसार राहतको प्याकेजलाई समेत समावेश गरिने भएको छ । बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि मेयर श्रेष्ठको संयोजकत्वमा उपमेयर सञ्जु बरुवाल, प्रवक्ता रामकृष्ण बराईली, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र प्रमुख प्रशासकिय अधिकृत हरि शर्मा सम्मीलित ५ सदस्यीय नगर स्तरीय दु्रत कार्य सम्पादन समिति समेत गठन गरेको छ ।

त्यसैगरि कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा गरिब तथा विपन्नलाई भन्दै आफुखुसी राहत संकलन र वितरण गर्ने कार्यलाई समेत रोक्ने र वडा र नगरपालिकाको अनुमती र सिफारिसमा मात्रै गर्ने गराउने र यस्ता गतिविधिलाई व्यवस्थित बनाउन प्रशासन कार्यालयको समेत ध्यानकर्षण गराउने निर्णय भएको प्रवक्ता बराईलीले जानकारी दिनुभयो ।

लकडाउनको समयमा बजारमा हुने सम्भावित कालोबजारी र कृतिम अभाबलाई समेत निगरानी गर्ने र त्यस्तो कार्य गरेको भेटिएमा आबश्यक कानुनी कारबाहीको लागि समेत कदम चाल्ने निर्णय गरेको जनाईएको छ । कारोनाबारे आबश्यक जनचेतना अभिबृद्धी गर्नका लागि नगरपालिकाको तर्फबाट अपिल समेत वितरण गरिने भएको छ ।