अन्नपूर्ण गाउँपालिकामा कर्मचारी अभाबले योजना कार्यान्वयनमा सकस, वडा सचिबको जिम्मेवारी स्वास्थ्यकर्मीलाई

  • ६ फाल्गुन २०७६, मंगलवार
  • 2476 पटक पढिएको

म्याग्दी ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर्मचारी अभाबले योजना कार्यान्वयनमा ढिलाई भएको छ । चालु आर्थिक बर्ष २०७६/०७७ मा गाउँपालिकाबाट स्विकृत भएका योजना कार्यान्वयनको लागि ७ महिना समयमा पूर्वाधारतर्फ कुनैपनि योजना सम्पन्न हुन सकेको छैन् । गाउँपालिकामा प्रमुख प्रशासयिक अधिकृत र लेखा शाखाका कर्मचारीहरुको अदलबदल र प्राविधिक शाखाका कर्मचारीको पदपूर्ति नहुँदा विकास निर्माण योजना कार्यान्वयनमा सकस उत्पन्न भएको हो ।

यस बर्ष गाउँपालिकामा १६० बढी योजना सञ्चालनमा छन् । माघको अन्तिम सातादेखि मात्रै गाउँपालिकामा योजना सम्झौता गर्ने कार्यले तिब्रता पाएको छ । गाउँपालिकामा माघ माहिनामा मात्रै प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको पदपूर्ति भएको छ । लेखा अधिकृत नहुँदा आर्थिक बर्षको आधा समयसम्म बेनी नगरपालिकाबाट काजमा लेखापाल मगाएर शिक्षक र कर्मचारीको तलब खुवाउने काम मात्रै भएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखाका कर्मचारीको अभाब हटेसंगै योजना कार्यान्वयनले गति लिएको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । ‘‘योजना कार्यान्वयन गर्ने कर्मचारीको अभाबले अहिलेसम्म काम गर्न सकेका थिएनौँ, अहिले दु्रत गतिमा योजना सम्झौता र कार्यान्वयनको काम अघि बढेको छ’’– अध्यक्ष पुनले भने ।

अहिले गाउँपालिकामा १ जना मात्रै इन्जिनियर कार्यरत छन् । प्राविधिक शाखातर्फ असिस्टेन्ट सव इन्जिनियर मात्रै ४ जनाको दरबन्दि रिक्त रहेको छ । प्राविधिक शाखामा रहेको जनशक्ति अभाबलाई हल गर्न सब इन्जियिनर पदमा विज्ञापन गर्दा कसैको पनि आवेदन नपरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिए । ‘‘ एक जना इञ्जिनियरको भरमा योजनाहरुको स्टिमेट बनाउने र नापजाँचको काम गर्नुपर्ने बाध्यता छ, कर्मचारी अभाबका बिच योजना कार्यान्वयलाई दु्रत बाटोबाट गर्ने गरि काम भैरहेको छ’’– प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने ।

उनका अनुसार, अहिलेसम्म अधिकाँश योजनाको लगत स्टिमेटको काम अन्तिम चरणमा पुगेको छ। योजना कार्यान्वयनको लागि प्राविधिक जनशक्तिको अभाब प्रमुख समस्याको रुपमा देखिएको छ । रु ३ लाख भन्दा कम बजेटका योजनाहरुमा पेश्की नदिने र वटाबाटै योजना सम्झौता गर्ने र प्राविधिक प्रतिवेदनको आधारमा भुक्तानी दिने प्रवन्ध मिलाईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकामा कुल ३२ जनाको दरबन्दि रहेकोमा प्रशासनतर्फ १२ जना र प्राविधिकतर्फ ४ जनाको दरबन्दि रिक्त रहेर १४ जना मात्रै कार्यरत रहेका छन् । आधा बढी जनशक्ति पदपूर्ति नहुँदा गाउँपालिका देखि वडा कार्यालयसम्मको सेवा प्रवाह समेत प्रभावित बनेको छ ।

चार वटा वडामा वडा कार्यालय सचिब विहिन रहेको गाउँपालिकाले जनाएको छ । वडा सचिब नहुँदा वडा नम्बर ८ राम्चेमा स्वास्थ्य चौकीकी अहेब बनिका गर्वुजा र वडा नम्बर ५ शिखमा अहेब बिर्ख तिलिजालाई वडा सचिबको जिम्मेवारी समेत दिईएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिए । विरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीलाई वडा कार्यालयको समेत जिम्मेवारी दिनुपर्दा दुबैतर्फको सेवा प्रवाह प्रभावित बन्दै आएको छ । वडा नम्बर ६ घारमा गाउँपालिकाकै कर्मचारीलाई जिम्मेवारी दिईएको छ भने वडा नम्बर ७ हिस्तान वडा सचिब विहिन बनेको छ ।