दुखुखोलामा निर्माण भएको मोटरेवल पुलको उद्घाटन (फोटो फिचर)

  • ५ फाल्गुन २०७६, सोमबार
  • 2517 पटक पढिएको

म्याग्दी ५ फागुन । म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि निर्माण भएको मोटरेवल पुलको उद्घाटन गरिएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा निर्माण भएको सो पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार उद्घाटन गर्नुभएको हो ।

तत्कालीन जिविस अन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा शुरु भएको सो पुलको ढाँचा असफल भएपछि पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराएर २०७३ मा अर्को ठेक्का सम्झौता गरि आयोजनालाई अघि बढाईएको थियो ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएको पुल गतवर्ष प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । कूल २० मिटर लामो र ६ मिटर फराकिलो रहेको सो पक्की पुल निर्माणमा रु २ करोड ६ लाख १२ हजार ७ सय ३९ खर्च भएको कार्यालयका इन्जिनियर सन्तोष अर्यालले जानकारी दिनुभयो । २०७३ साउन ९ गते ठेक्का सम्झौता गरेको स्वच्छन्द–गौचन जेभीले गत कात्तिक अन्तिम साता मात्रै पुल निर्माण सम्पन्न गरेको थियो ।

पुलको उद्घाटन गर्दै मन्त्री बस्नेतले बर्षौदेखि अल्पत्र परेको पुल प्रदेश सरकार मातहतको कार्यालयमा हस्तान्तरण भएसंगै निर्माण सम्पन्न हुनुले सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले संघियतासंगै मुलुकमा विकासको युग सुरु भएको बताउँदै विकास निर्माणमा राम्रो काम गर्नेलाई प्रोत्साहन र ढिलाई गर्नेलाई कारबाहीको व्यवस्था गरिएको बताउँदै निर्माण व्यवसायिहरुलाई सचेत हुन आग्रह गर्नुभयो ।

उहाँले बेनीदेखि दरबाङ हुँदै मुना जोड्ने सडक कालोपत्रेको लागि अहिले दरबाङ सम्मको दुई वटा प्याकेजको काम अघि बढेको र बावियाचौर खण्ड र दरबाङदेखि अगाडीको काम समेत छिट्टै अघि बढ्ने जानकारी दिनुभयो । मन्त्री बस्नेतले संघियतासंगै सरकार जनताको घरघरमा पुगेको बताउँदे गण्डकी प्रदेशले हरेक घरमा आधारभुत खानेपानी र विद्यूतको पहुँच पु¥याउने नीति अनुरुप योजना कार्यान्वयनमा जुटेको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य नवराज शर्माले बेनी–दरबाङ हुँदै जलजला जोड्ने सडक म्याग्दी जिल्लाको गौरवको योजना रहेको बताउँदै यस सडकखण्डमा बनेको पुलले सवारी आवतजावतमा सहजता मिल्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बेनी– दरबाङ सडक कालोपत्रे योजनाको बारेमा जानकारी गराउँदै विकास निर्माणमा देखिएका समस्याहरुबारे मन्त्री बस्नेतको ध्यानकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका , मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र नेपाली काँग्रेसका सचिब मिनबहादुर कार्कीले सडकखण्डको बावियाचौर क्षेत्रमा ठेक्का लगाउन बाँकी रहेको सडकखण्ड कालोपत्रेको लागि आबश्यक बजेट विनियोजन गर्न मन्त्री बस्नेतको ध्यानकर्षण गराउनुभएको थियो ।

पूर्वाधार विकास कार्यालयका वरिष्ठ डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, जग्गादाता जितेन्द्र पुन लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि प्रकाश बानियाँलाई प्रसंसापत्र र जग्गादाता पुनलाई माला लगाएर सम्मान गरिएको थियो भने कार्यालयका प्रशासन अधिकृत बावुराम आचार्यले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

दुखुखोलामा मोटरेवल पुल निर्माण भएसंगै सवारी साधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ । बेनी–दरवाङ सडक मङ्गला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो ।