पोखरासम्म पुग्ने ट्याक्सीलाई रुट इजाजत मिलाउन मन्त्री बस्नेतलाई आग्रह

  • ५ फाल्गुन २०७६, सोमबार
  • 2202 पटक पढिएको

 

म्याग्दी, ५ फागुन । धवलागिरि अञ्चलमा संचालित टयाक्सीलाई सहज रुपमा प्रदेश राजधानी पोखरासम्म आवातजावतको ब्यवस्था मिलाउन माग गर्दै ट्याक्सी संचालकहरुले गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा संचालनमा रहेका ५ सय ट्याक्सीलाई सहज रुपमा पोखरा पुग्ने रुट इजाजत पत्र ब्यवस्था मिलाउन माग गर्दै कालीगण्डकी यातायात प्रालीका अध्यक्ष भोजबहादुर थापाले ज्ञापनपत्र बुझाएका हुन् ।


बेनी– दरवाङ सडक अन्तरगत दुखु खोलाको मोटरेपुल उद्घाटन गर्न आएका मन्त्री बस्नेतलाई जिल्ला समन्वय समितिको कार्यालयमा सो ज्ञापनपत्र बुझ्दै उनले ट्याक्सी ब्यवसायीहरुलाई रुट ईजाजत मिलाउन आवश्यक पहल थाल्ने बताए । प्रदेश अन्तरगतका जिल्लाका ट्याक्सी ब्यवसायीलाई सहज रुपमा पोखरा पुग्ने वातावरण सिर्जना गर्न यातायात कार्यालय र ब्यवसायीसंग छलफल गर्ने प्रतिवद्धता दिएका थिए ।