विकास आयोजना दिगो बनाउनुपर्छ : मन्त्री बस्नेत

  • ५ फाल्गुन २०७६, सोमबार
  • धिरन खत्री
  • 2833 पटक पढिएको

म्याग्दी, ५ फागुन । गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशभित्रका संचालित र आगामी दिनहरुमा बन्ने सडक, भवन लगायतका पुर्वाधार विकास आयोजनाहरु दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । विकास आयोजना निर्माण गर्दा संघ, प्रदेश र स्थानीय सरकारको मापदण्ड अनुसार दिगो रुपमा पुर्वाधार निर्माण भए नभएको अनुगमन तथा निरिक्षण गर्न स्थानीय तह लगायतका सरोकारवालाहरुलाई मन्त्री बस्नेतले आग्रह गरेका हुन् ।


म्याग्दीको सदरमुकाम बेनी–दरवाङ सडक अन्तरगत दुखुखोलामा निर्माण भएको मोटरेपुल उद्घाटन कार्यक्रममा आएका मन्त्री बस्नेतले सदरमुकाम बेनीमा रहेको कालिपुल बसपार्कको निरिक्षण गर्दै पुर्वाधार आयोजनाहरु दिगो बनाउन जोड दिएका हुन् । बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्धार कालीपुल बसपार्कको डिपिआर अनुसार स्तरोन्नती गर्नका लागि आगामी बर्षको योजनाहरुमा समेट्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री बस्नेतले बसपार्क, पर्वत र म्याग्दी जोडिने कालीगण्डकी नदीमा भएको मोटरेपुलको जिर्णद्धार र कालीगण्डकी नदीमा तटबन्धका लागि आगामी योजनाहरुमा समेटर दिगो पुर्वाधार निर्माणमा जोड दिने बताए ।


प्रदेश मन्त्री बनेको फागुन ४ गते दुई बर्ष वितिसकेको जानकारी गराउदै बस्नेतले प्रदेशमा ५ लाख ७८ हजार घरधुरीलाई सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र खेलकुदका पुर्वाधार सहज रुपमा प्रयोग गर्ने वातावरणमा सिर्जना गर्न सरकारले रणनीति योजनासहित पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । बसपार्क निर्माणमा आगामी योजनामा समेटेर गुरुयोजनाअनुसार काम अघि बढ्ने प्रतिवद्धता जनाउदै बेनी नगरपालिकाले समन्वय गर्नुपर्ने जोड दिए । ग्रामिण भेगका जनताहरुको आवश्यकता परिपुर्ति र आत्मनिर्भर बनाउने उत्पादनमुखी प्रदेशका योजनाहरुस्थानीय तह लगायतका सरोकारवालाहरुले जनताको भावनाहरुअनुसार योजना कार्यान्वयन गर्न आग्रह गरेका थिए ।


प्रदेश अन्तरगतको पुर्वाधार विकास कार्यालय म्याग्दीको कार्यालय अवलोकन गर्दै भौतिक प्रगतीको अवस्थाबारे जानकारी लिएका थिए । कार्यालयका सिनियर डिभिजनल ईन्जियिर ओमराज ढुंगनाले म्याग्दी र मुस्ताङमा संचालित विकास आयोजनाको हालसम्मको वित्तिय प्रगति २७. ६३ प्रतिशत भएको जानकारी गराएका थिए । ईन्जियिनर ढुंगनाले एक निर्वाचन एक सडक आर्थिक बर्ष ०७५÷०७६ मा सम्झौता भएर चार वटा सडकको निर्माण काम भईरहेको बताए । उनले म्याग्दीमा ११ पुलमध्ये २ वटा निर्माणधिन १ वटा सम्झौताको चरण २ वटा डिपिआर प्राप्त, १ शर्भे, एकवटा पुर्ननिर्माण प्राधिकरण रहेको जानकारी दिए ।  मुस्ताङमा २ वटा ठेक्का प्रक्रिया १ वटा डिपिआर र १ शर्भेको काम भईरहेको मन्त्रीलाई जानकारी दिए । त्यस्तै झोलुगे पुल १७ वटा मध्य १३ वटा म्याग्दीमा ४ मुस्ताङमा रहेको छ । १ निर्माणधिन, ४ सम्झौता भएर निर्माण प्रक्रियामा, ७ वटाको डिपिआर तयार, १ वटा गाउँपालिकाले निर्माण गरेको बताए । मुस्ताङमा १ वटा पुल निर्माण सम्पन्न, २ वडा डिपिआर नभएको, १ सम्झौता भएको जानकारी दिए । कार्यालयले ख बर्गका सडकमा ८ वटा निर्माणधिन, ग बर्गका सडकमा १३ वटा मध्य १० वटा सम्झौता भएर निर्माधिन भएको छ, भने ३ वटा सडक एक्याप कारण रोकीएको बताए ।


प्रदेश सांसद विनोद केसीले आगामी २ बर्षमा ग्रामिण भेगका मुख्य सडक ब्यवस्थित बन्ने बताउदै मुख्य सडक कालोपत्रे हुने जानकारी दिए । बेनी नगरपालिका प्रवक्ता तथा वडानम्वर ८का वडा अध्यक्ष रामकृष्ण बराईलीले कालीपुल बसपार्क, बेनी–गलेश्वर सडकको ढिलासुस्ती, मोटेरपुल जिर्ण र बसपार्कको बस्तीलाई जोगाउन कालीगण्डकी नदीमा तटबन्धको अवस्था मन्त्री बस्नेतलाई देखाएका थिए । साथै जिल्ला समन्वय समितिको कार्याल, नेकपा म्याग्दी शिर्ष नेतासंग जिल्लाको विकास आयोजनाको अवस्था र कार्यान्वयनबारे बुझेका थिए ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l