पञ्चेबाजा बजाउने पेशा ब्यवसायीक बन्न सकेन

  • ५ फाल्गुन २०७६, सोमबार
  • धिरन खत्री
  • 4077 पटक पढिएको

म्याग्दी, ५ फागुन । विवाह, बर्तबन्ध, आजापुजा, लगायतको शुभकार्यमा बजाउने पञ्चेबाजा पेशा ब्यवासायीक बन्न नसकेकोमा सम्बन्धित पेशामा आबद्ध सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । पञ्चेबाजा संरक्षणमा विभिन्न जातजाती सक्रिय भएपनि मौलिक रुपमा बज्ने पुराना बाजाको ताल नयाँ पुस्ताले भुल्दै गएको रघुगंगा गाउँपालिका– ३ जोत्रे पिपल नौमती बाजा समुहका संयोजक हर्कबहादुर परियारले बताउनुभयो ।

नौमती पञ्चेबाजामा कर्नल नर्सिह, दमाह, सनाइ, ट्याङ्को, ढलकी र झ्याली बाजासहित नौजना बजाउने मान्छे हुन्छन् । सात ओटा बाजामा सनाई र दमाई बजाउने दुई÷दुइजना हुने उहाँले बताउनुभयो । नौमती बाजाको धुनले सबैलाई आनन्द दिलाउने बाजा ब्यवसायीक पेशा बन्न नसक्दा अन्य पेशा अगाल्नु पर्ने बाजा समुहका संयोजक परियारको भनाई छ । बाजा बजाउने पेशामा अधिकाँश परियार जातीका रहेको र पुराना पुस्ताले नया पुस्तालाई सिकाएपनि उनीहरुको आम्दानी सोही क्षेत्रमा हुन नसक्दा विदेश पलायन बढेको उहाँले बताउनुभयो । ‘‘बाजे बुवाहरुले बजाउदै आएको बाजा हामीले सिकौँ, नयाँ पुस्तालाई सिकायौँै, तर उनीहरुको आम्दानीको स्रोत बन्न नसक्दा अन्य पेशामा आवद्ध हुनु पर्ने बाध्यता रहेको छ’’– उहाँले भन्नुभयो ।

सामान्यतया नौमती बाजा समुहहरुले १ दिनको २० हजार, दुईदिनको ४० हजार सम्म आम्दानी गर्छन । पञ्चेबाजा अबस्था अनुसार फरक फरक तवरले बजाउने गरिन्छ । विहान र बेलुकीको पञ्चेबाजाको पार, दुलही ल्याउने भित्र्याउने, सम्मान, स्वागत तथा सुरुवात, देउपृतिलाइ, नाच्ने ताल, विदाई लगायतको फरक फरक तालहरुमा नौमती बाजा बजाउने गरिन्छ । वडा नम्वर–२ राखु भगवतीका १४ बर्षिय विशाल परियार उत्कृष्ट सनाइ बजाउन सक्नुहुन्छ । तर यस पेशालाई ब्यवसायिक रुपमा अंगाल्ने कि अरु नै पेशा रोज्ने भन्नेमा उहाँ दोधारमा पर्नुभएको छ । नयाँ पुस्तामा बाजा बजाउने सिप सिकाएपनि रोजगार लगायतको कारणले लामो ग्याप हुदाँ पुराना तालहरु भुल्ने सम्भावना बढ्ने गरेको छ ।

पछिल्लो समय बाजाको महत्व बढ्दै गएपनि स्थानीय सरकार बाजा संरक्षण तथा नया पुस्तामा हस्तान्तरणका लागि तालिम संचालनका लागि बजेट विनियोजन नभएको यस पेशामा आबद्ध भएकाहरुको गुनासो छ । बाजा जसले बजाउछ, उसले बाजा किन्नुपर्छ । विभिन्न शुभकार्यमा बजाउने यो पेशा अगाल्नमा बढी दलित समुदाय नै आबद्ध छन भने न्यून रुपमा मगर समुदाय र पछिल्लो समय ब्राहमण र क्षत्री समुदायका व्यक्तिहरुले पनि यो पेशामा आबद्ध हुन सुरु भएको पाईन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l