बेनी नगरपालिकामा तिब्र प्रतिस्पर्धा

  • २ जेष्ठ २०७४, मंगलवार
  • 3898 पटक पढिएको

म्याग्दी, २ जेठ जिल्लाकौ सबैभन्दा बढी चासोको रुपमा हेरिएको बेनी नगरपालिकाको मेयरमा तिब्र प्रतिस्पर्धा भएको छ । चुनाबी तालमेल गरि निर्वाचन लडेका जिल्लाका ६ स्थानीय तह मध्ये बेनी नगरपालिकाको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।

नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रमोद श्रेष्ठ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठबिच निकै थोरै मतअन्तरले प्रतिस्पर्धा भईरहेको हो । मतगणना सुरु देखि नै अग्रता लिएका एमालेका प्रमोद श्रेष्ठले आफ्नो अग्रतालाई अहिलेसम्म पनि कायमै राखेका छन् ।

यता एमाले र राप्रपाको तालमेलबाट उपमेयरमा चुनाब लडेकी राप्रपाकी सञ्जु वरुवालले पनि सुरुवात देखीनै अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी काँग्रेस र माओवादीको तालमेलबाट उपप्रमुखको उम्मेदवार लडेकी माओवादी केन्द्रकी ज्योती लामिछानेले समेत बरुवाललाई पछ्याइरहनुभएको छ ।
सुरुवात देखिनै अग्रता लिएका एमालेको तर्फबाट मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले चार वटा वडाको मतगणना सकिँदा सम्म २ हजार ४ सय ६४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठले २ हजार ४ सय २४ मत प्राप्त गर्नुभएको छ ।  त्यस्तै उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले  १ हजार ९ सय ३५ मतले अग्रता लिनुभएको छ भने नेकपा (माओवादी केन्द्र) की ज्योती लामिछानेले  १ हजार ७ सय १४ मत प्राप्त गर्नुभएको छ ।