मिर्गौला पीडित ठाकुर परियारलाई कतारमा संकलीत रु ५० हजार सहयोग हस्तान्तरण

  • १२ माघ २०७६, आईतवार
  • 2257 पटक पढिएको

म्याग्दी १२ माघ । विगत ३ बर्षदेखि मिर्गाैलामा समस्या देखिएपछि उपचार गराईरहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई रु ५० हजार सहयोग प्राप्त भएको छ ।


आर्थिक अभावले उपचार गराउन नसकेका परियारको लागि कतारमा रहेका भगवतीका युवाहरु, मोना कतारका कार्य समितिका पदाधिकारीहरु र अल जवर जेटिसीमा कार्यरत भगवती चौरका खडक बहादुर केसीको पहलमा सोहि कम्पनिमा कार्यरत म्याग्देली युवाहरुले संकलन गरेको सो सहयोग रकम पिडित परियारकी आमा फुलमायाँलाई हस्तान्तरण गरिएको हो ।


भगवती वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रिम कटुवाल, वडा सदस्य विष्णु कुमारी भण्डारी र रसिला परियार, वडा सचिब विष्न बहादुर भण्डारीको उपस्थितिमा समन्वयकर्ता मायाँ पौडेल र सन्जिप रिजालले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।


पोखरामा उपचाररत परियारको कमजोर आर्थिक अबस्थाको कारण उपचार समेत प्रभावित भैरहेको छ । सातामा दुई पटक मिर्गौला डायलासिस गर्दै आएका परियारको घरपरिवारको अबस्था नाजुक रहेको छ ।