एमसीसीबारे पार्टीले आबश्यक निर्णय लिन्छः नेकपा प्रवक्ता श्रेष्ठ (भिडियो सहित)

  • ४ माघ २०७६, शनिबार
  • 1958 पटक पढिएको

बेनी, ४ माघ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धि प्रस्ताब मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले आबश्यक निर्णय लिने बताउनुभएको छ । नेपालको विद्यूत प्रशारण लाईन र सडक स्तरोन्नतीका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताब एमसीसीलाई संसदबाट पारित गराउने बिषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भैरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय हुने बताउनुभएको हो ।

प्रेस संगठन म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले पार्टीको सचिबालय बैठकले राष्ट्रिय स्वाधिनता र विकासलाई ध्यान दिएर यथार्तपरक ढंगबाट एमसीसी प्रस्ताबबारे आबश्यक निकास निकाल्ने बताउनुभयो । ‘‘ अब लामो समयसम्म एमसीसी प्रस्ताबलाई के गर्ने भनेर बस्ने अबस्था रहँदैन, पार्टीको सचिबालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पु¥याउँछ’’–नेता श्रेष्ठले भन्नुभयो ।

प्रतिनिधि सभाको सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने उहाँले जानकारी दिनुभयो । नेकपाकै तर्फबाट सभामुखको उम्मेदवारी दिनको लागि उपसभामुखको राजिनामा अनिवार्य भएको बताउँदै नेता श्रेष्ठले माघ ६ गते आह्वान गरिएको प्रतिनिधि सभा बैठक अगाबै यस बिषयले निष्कर्ष पाउने विश्वास व्यक्त गर्नुभयो । सभामुखमा पूर्व एमाले र माओवादी कस्ले लिने भन्ने विवाद हो ? भन्ने पत्रकारहरुको प्रश्नको जिज्ञासा मेटाउँदै नेता श्रेष्ठले दुई पार्टी मिलेर नेकपा बनिसकेको र पूर्व एमाले र पूर्व माओवादी इतिहाँसमा मात्रै लेखिने र पार्टीको नियमित कार्यमा नजोडिने दावि समेत गर्नुभयो ।

नेता श्रेष्ठले वर्तमान सरकारले मुलुकमा हुँदै आएका र भएका वेतिथि र गलत कार्यहरुको छानविन गरि बास्तविकता बाहिर ल्याउने कार्य गरेको बताउनुभयो । यस अघिका सरकारको पालमा भएका ललिता निवास प्रकरणमा गृहमन्त्रालयले छानविन गरेर कमिकमजोरी पहिचान गरेको बताउँदै गलत कार्यमा संलग्नलाई कारबाही हुने बताउनुभयो । राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका नेता श्रेष्ठले पार्टी एकताका बाँकी कार्यहरुलाई छिट्टै टुंगोमा पु¥याउने गरि काम भैरहेको जानकारी समेत दिनुभयो ।

राष्ट्रिय सभा निर्वाचन प्रचार प्रसारको क्रममा नेता श्रेष्ठ सहित उम्मेदवार भगवती न्यौपाने समेत म्याग्दी आउनुभएको छ । उहाँहरुले राष्ट्रिय सभाका मतदाता र पार्टीका नेता तथा कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । प्रेस संगठन म्याग्दीका संयोजक कमल खत्रीको अध्यक्षता र सदस्य सन्दीप रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।