दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा धनजनता मावि बिजयी

  • १ माघ २०७६, बुधबार
  • 2273 पटक पढिएको

गोपाल आचार्य,
ताकम, १ माघ । ताकममा मंगलबार सम्पन्न धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा धनजनता मावि फलियागाउ बिजयी भएको छ । ताकममा मंगलबार सम्पन्न प्रतियोगितामा १९ वटा पदक जित्दै धनजनताले दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । गत वर्ष पनि धनजनतानै बिजयी भएको थियो । १० वटा स्वर्ण, पाँच वटा रजत र ४ वटा कास्य पदक जित्दै बिजयी भएको हो ।

६ वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेको ताकम मावि दितृय भएको छ । ६ वटा स्वर्ण, १ वटा रजत र ३ वटा कास्य पदक जित्दै किसानी मावि धारापानी तितृय भएको छ । प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, ट्रफि र प्रमाणपत्र सहित क्रमश ः नगद पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका गाउपालिकाको शिक्षा शाखाका संयोजक गिरिप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

चार दिनसम्म सञ्चालित प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका थिए । छात्र÷छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइएको थियो । प्रतियोगिताको मुख्य आकर्षण छात्र र छात्रा भलिबल दुवै तर्फ धनजनता मावि बिजयी भएको छ । छात्र भलिबलमा जनजागृति मावि मल्कवाङ दितृय र जनविकास मावि मराङ तितृय भएका छन् । छात्रा भलिबलमा लमसुङ मावि लमसङ दितृय र जनकल्याण मावि गुर्जा तितृय भएका छन् ।

गाउपालिकाका अध्यक्ष थमसरा पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्षहरु कलानिधी शर्मा, राजाराम सुवेदी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा सहभागि हुन आएका खेलाडी र शिक्षकहरुलाई गाउपालिकाको सहयोगमा ताकमका आमा समूह र युवा क्लवले खान बस्नको व्यवस्था मिलाएका थिए ।