नेकपा रघुगंगा कमिटीको प्रवक्ता र प्रचार प्रसार तथा प्रकाशन विभाग चयन

  • २९ पुष २०७६, मंगलवार
  • 2065 पटक पढिएको

म्याग्दी २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगा गाउँपालिका कमिटीले संगठनको प्रवक्ता र प्रचार प्रसार तथा प्रकाशन विभागको संयोजक चयन गरेको छ । नेकपा रघुंगगाको सचिबालय बैठकले प्रवक्तामा नेकपा वडा नम्बर ८ कुईनेमंगलेका अध्यक्ष समेत रहनुभएका चन्द्रमान छन्त्याल र प्रचार प्रसार तथा प्रकाशन विभागको संयोजकमा नेकपा वडा नम्बर २ भगवतीका अध्यक्ष समेत रहनुभएका झलक आचार्यलाई चयन गरेको हो ।


५१ सदस्यीय पालिका कमिटी रहेको नेकपा रघुगंगाले ९ जनाको सचिबालय विस्तार गरेको छ । सचिबालय सदस्यहरुमा संगठनका अध्यक्ष प्रेमबहादुर कार्की (विखर्ची), सचिब हरि भण्डारी संगै ध्रुव सुवेदी, चन्द्रमान छन्त्याल, झलक आचार्य, गमबहादुर पुन, निरज शेरपुञ्जा, इन्द्रबहादुर मगर र सुविन शेरपुञ्जा रहनुभएको छ ।

बाँकी रहेका अन्य विभागका संयोजकहरु आगामी बस्ने बैठकले टुंगो लगाउने प्रवक्ता छन्त्यालले जानकारी दिनुभयो । सचिबालय बैठकमा अध्यक्ष कार्कीले गाउँपालिकाभित्र सञ्चालित विकास निर्माण योजनाहरुमा अपारदर्शीता र गुणस्तरहिनताको समस्या बढेको भन्दै जनस्तर र सरोकारवालाबाट निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । जनताको सहभागितामा सम्पन्न गर्नुपर्ने विकास निर्माण योजनाहरुहरुमा आमभेला नगर्ने, सिमित र स्वार्थमिल्ने व्यक्तिहरुको मिलेमतोमा मात्रै उपभोक्ता समिति गठन गर्ने प्रवृत्ति बढेको भन्दै नेकपा रघुगंगाले यस्ता गलत कार्यको भण्डाफोर गर्ने अध्यक्ष कार्कीले चेतावनी दिनुभएको छ ।