गौमहोत्सव हिन्दु धर्मको रक्षाका लागि सहयोगी बन्ने सभापति देउवाको भनाई ( फोटो फिचर)

  • २२ मंसिर २०७६, आईतवार
  • 2964 पटक पढिएको

म्याग्दी २२ मंसिर। पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्नुभएको छ । गौमहोत्सवको अवलोकन गर्दै सभापती देउवाले प्राचिन कालदेखि चल्दै आएको हिन्दु धर्मको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धर्म परिवर्तन गर्ने कार्यहरु भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै धर्ममा रहेका खट्टरतालाई हटाउँदै सनातन धर्मको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउँदै सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई सवैजना जुटन आग्रह गर्नुभयो । धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुहरुलाई नयाँ आशा जगाएको उहाँले बताउनुभयो ।

अत्यन्तै छोटो समय बोल्नुभएका सभापति देउवाले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र यसलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न आफूले सरकार सँग माग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम सविधानसभाकासदस्य अर्जुनप्रसाद जोसीले जलजला, कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दु धर्मालम्बीहरुलाई एक ठाउँमा ल्याएको बताउनुभयो। उहाँले जलजला क्षेत्र धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने भएकाले गाउँपालिकाले ठोस योजना बनाउनुपर्ने बताउनुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लागिएको बताउनुभयो । गण्डकी गोपाल गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गाउँपालिकाको तर्फबाट चालिस लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुृभयो ।

महोत्सव मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्य लगायत समितिका पदाधिकारीहरुले सभापति देउवालाई स्वागत गरेका थिए । सभापति देउवालाई बाजागाजा, भजनकृतन सहित महोत्सव स्थलमा भव्य स्वागत गरिएको थियो । कार्यक्रममा मुल आयोजन समितिका अध्यक्ष आचार्यले कालञ्जर क्षेत्रको धार्मिक ऐतिहाँसिक महत्वको उजागर र गौशालाको पूर्वाधार निर्माण गर्ने उदेश्यले नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरिएको बताउनुभयो ।